काठमाडौं– नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनमा सक्रिय सांसद तथा जनप्रतिनिधिलाई पदबाट हटाउने तयारी गरेको छ ।
सभापति गगन थापा नेतृत्वको कांग्रेसले अनुशासन समिति गठन गरी देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पदमुक्त गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको हो ।
कांग्रेसका अनुसार प्रतिनिधिसभामा देउवा पक्षमा दुई, राष्ट्रिय सभामा सात र विभिन्न प्रदेश सभामा २९ सांसद खुलेका छन् ।
प्रतिनिधिसभाका दुई सांसद हरिनादेवी कामी र सुशीला ढकाल आचार्य देउवा पक्षमा सक्रिय छन् ।
राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जितजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्ट देउवा पक्षमा खुलेका छन् ।
प्रदेश सभातर्फ कोशीमा ६, बागमतीमा ९, गण्डकीमा ३, लुम्बिनीमा २ र सुदूरपश्चिममा ९ सांसद देउवा पक्षमा सक्रिय छन् ।
मधेस र कर्णाली प्रदेशमा भने देउवा पक्षमा खुलेका कांग्रेस सांसद छैनन् ।
सभापति थापाले कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भइसकेकाले देउवा पक्षले गर्न लागेको महाधिवेशन नयाँ पार्टीको गतिविधि भएको दाबी गर्दै अर्को पार्टीमा लाग्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
राजीनामा नदिए विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनको चेतावनी छ ।
यता देउवा पक्षले भने आफूहरूले कांग्रेसकै झण्डामुनि महाधिवेशन गर्न लागेको र पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सांसदहरूमाथि कारबाही गर्न नमिल्ने दाबी गरेको छ ।
संविधानको धारा ८९ अनुसार सम्बन्धित दलले संघीय कानुनबमोजिम दल त्याग गरेको सूचना दिएमा सांसदको पद रिक्त हुन सक्छ ।
तर देउवा पक्षले आफूहरूले दल त्याग नगरेको जिकिर गर्दै आएको छ ।






















