images
images
  • फोन जासुसीदेखि क्षेप्यास्त्रसम्म भारत–इजरायल रणनीतिक सम्बन्ध

    नयाँदिल्ली, भारत– भारत र इजरायलबीचको रणनीतिक सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारसँग मात्रै जोडिएको विषय होइन ।

    पछिल्ला वर्षमा मोदी नेतृत्वको सरकारले यो सम्बन्धलाई थप सार्वजनिक र सुदृढ बनाए पनि यसको जग दशकौँअघि नै बसिसकेको थियो ।

    सैन्य उपकरण, हतियार, निगरानी प्रविधि, गुप्तचर सूचना आदानप्रदान र सुरक्षा रणनीतिसम्म फैलिएको यो सम्बन्ध भारतको राजनीतिक नेतृत्व परिवर्तन भए पनि निरन्तर रहने देखिन्छ ।

    पछिल्ला तीन वर्षदेखि भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले प्रधानमन्त्री मोदी नेतृत्वको सरकारलाई गाजामा इजरायलले गरिरहेको युद्धको निन्दा नगरेको भन्दै आलोचना गर्दै आएको छ ।

    कांग्रेसले उक्त युद्धलाई नरसंहारका रूपमा व्याख्या गर्दै आएको छ ।

    तर, गत साता इजरायलसँगको सम्बन्धबारे एक अन्तर्वार्तामा कांग्रेसका प्रभावशाली नेता राहुल गान्धीले फरक धारणा सार्वजनिक गरे ।

    उनले इजरायलको नरसंहारपूर्ण युद्धको आलोचना गर्दै भने, ‘म इजरायलसँग बलियो सम्बन्धको समर्थन गर्छु । हाम्रा रणनीतिक हितहरू छन्, जसमा आफ्ना सशस्त्र बलका लागि उत्कृष्ट हतियार खरिद गर्नु पनि पर्छ ।’

    उनको यो अभिव्यक्तिले कांग्रेसकै केही सहयोगी दल, विशेषगरी वामपन्थी दलहरूबाट आलोचना निम्त्यायो ।

    तर, विश्लेषकहरूका अनुसार यसले भारत र इजरायलबीचको रणनीतिक साझेदारी कति गहिरो छ भन्ने देखाउँछ ।

    राजनीतिक रूपमा विवादास्पद भए पनि दुवै देशका लागि यो सम्बन्ध महत्त्वपूर्ण मानिन्छ ।

    भारतले हतियार र निगरानी प्रविधिदेखि प्रहरी परिचालन तथा साइबर आक्रमणसम्बन्धी प्रविधिसम्म इजरायलको सहयोग लिँदै आएको छ ।

    यसले दुई देशलाई यस्तो सम्बन्धमा बाँधेको छ, जसलाई राजनीतिक नेतृत्व परिवर्तन हुँदैमा सहजै अलग गर्न कठिन देखिन्छ ।

    फोन ह्याकिङ प्रविधिसम्म फैलिएको सहकार्य

    यसै महिना इन्टरनेट फ्रिडम फाउन्डेसन (आईएफएफ) नामक गैरनाफामूलक संस्थाले गरेको अनुसन्धानले भारतका गृहमन्त्री अमित शाहले इजरायलबाट फोन ह्याकिङ प्रविधि खरिद गर्न आफ्नै देशका नियमहरूमा छुट दिएको खुलासा गरेको थियो ।

    भारतमा यसअघि पनि इजरायली निगरानी प्रविधिको प्रयोगबारे विवाद उठेको थियो ।

    सन् २०१९ मा ह्वाट्सएपले इजरायलको एनएसओ ग्रुपले विकास गरेको पेगासस स्पाइवेयरमार्फत भारतीय पत्रकार र मानवअधिकारकर्मीहरूलाई निशाना बनाइएको जानकारी दिएको थियो ।

    एम्नेस्टी इन्टरनेसनलले पछि पत्रकार सिद्धार्थ वरदराजन र आनन्द मंगनालेको मोबाइल फोनमा उक्त स्पाइवेयरको संक्रमण पुष्टि गरेको थियो ।

    यद्यपि, भारत सरकारले अनधिकृत निगरानी गरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

    अनुसन्धानकर्ता तथा लेखक आजाद एसा भन्छन्, ‘भारत र इजरायलबीचको सहकार्य सधैँ गुप्तचर सूचना संकलन, सीमा व्यवस्थापन र असहमति नियन्त्रणका इजरायली विधिको अध्ययन तथा प्रयोगसँग जोडिएको छ ।’

    उनका अनुसार इजरायली प्रविधि र विधि अन्ततः भारतीय नागरिकविरुद्ध पनि प्रयोग हुन सक्ने अवस्था सिर्जना हुनु समयको कुरा मात्रै थियो ।

    भारतको हरियाणा राज्य सरकारले इजरायलको प्रहरी तथा सेनाको कार्यशैली अनुकरण गर्न छ वर्षसम्म प्रयास गरेको थियो ।

    सन् २०२४ को फेब्रुअरीमा दिल्लीमा प्रदर्शन गर्न अघि बढेका किसानमाथि प्रहरीले ड्रोनमार्फत अश्रुग्यास प्रहार गरेको थियो ।

    हतियार कारोबारमा भारत इजरायलको सबैभन्दा ठूलो साझेदार

    भारत–इजरायल सम्बन्ध निगरानी प्रविधिमा मात्रै सीमित छैन ।

    दुवै देशबीचको सहकार्य रक्षा उद्योगसम्म गहिरो रूपमा फैलिएको छ ।

    सन् २०१४ यता भारत इजरायलको सबैभन्दा भरपर्दो हतियार खरिदकर्ता बनेको छ ।

    इजरायलले निर्यात गर्ने कुल हतियारमध्ये करिब ३७ प्रतिशत भारतले खरिद गर्दै आएको छ ।

    यस सम्बन्धको केन्द्रमा अर्बपति गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूह पनि छ ।

    सन् २०१६ मा भारतीय समूह अडानीले इजरायलको एल्बिट सिस्टम्ससँग संयुक्त लगानीमा हैदराबादमा हर्मेस ९०० ड्रोन उत्पादन गर्ने कारखाना स्थापना गरेको थियो ।

    इजरायलबाहिर यस्तो कारखाना स्थापना भएको यो पहिलो अवसर थियो ।

    सन् २०२० देखि अडानी समूहले बीएलआर सिस्टम्समा ५१ प्रतिशत स्वामित्व राख्दै आएको छ ।

    उक्त कम्पनीले इजरायल वेपन इन्डस्ट्रिजसँग मिलेर नेगेभ मेसिनगनका पार्टपुर्जा उत्पादन गर्छ ।

    त्यस्तै, सन् २०२३ को जनवरीमा अडानी समूह र इजरायलको गाडोट कम्पनीले १ अर्ब १५ करोड अमेरिकी डलरमा हाइफा बन्दरगाह खरिद गरेका थिए ।

    त्यस अवसरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु स्वयं हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

    अनुसन्धानकर्ता एसाका अनुसार भारत क्रमशः इजरायली कम्पनीका लागि उत्पादन तथा आपूर्ति केन्द्र बन्दै गएको छ ।

    नयाँदिल्लीस्थित स्वतन्त्र अनुसन्धानकर्ता आशुतोष सिंहले पनि हैदराबादलाई भारतको पुँजी इजरायलको सैन्य पूर्वाधारसँग जोडिएको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

    उनका अनुसार ‘मेक इन इन्डिया’ कार्यक्रमको आवरणमा इजरायलको सैन्य उत्पादन प्रणालीमा भारतीय लगानी भित्रिएको छ ।

    तर, नेदरल्यान्ड्सस्थित लिडेन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यापक निकोलस ब्लारेलले यस विषयमा केही सावधानी अपनाउनुपर्ने बताएका छन् ।

    उनका अनुसार हैदराबादमा हुने उत्पादन मुख्यतः इजरायलमा डिजाइन गरिएका ड्रोनको अन्तिम चरणको जडान हो ।

    प्रविधि कति हदसम्म पूर्ण रूपमा हस्तान्तरण भएको छ भन्ने स्पष्ट छैन ।

    यद्यपि, सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुवातमा केही ड्रोन इजरायल पठाइएको थियो ।

    त्यतिबेला तीमध्ये केही मोडल गाजामा भइरहेको युद्धमा प्रयोग भइरहेका थिए ।

    एम्नेस्टी इन्टरनेसनलले जुलाई ३० मा सार्वजनिक गरेको ‘मेड इन इन्डिया’ प्रतिवेदनअनुसार सन् २०२३ अक्टोबर ७ देखि सन् २०२५ नोभेम्बर ३० सम्म भारतीय कम्पनीहरूले इजरायलमा हतियार, गोलीगठ्ठा र सैन्य उपकरणका २ हजार ५९६ खेप पठाएका थिए ।

    प्रतिवेदनमा नौवटा भारतीय कम्पनीको नाम उल्लेख गरिएको छ ।

    तीमध्ये तीनवटा कम्पनी भारतको रक्षा मन्त्रालयको पूर्ण स्वामित्वमा रहेका छन् ।

    प्रतिवेदनले ती कम्पनीमार्फत हतियार निर्यात हुँदा भारतीय राज्य स्वयं पनि त्यसको आपूर्तिमा संलग्न हुने निष्कर्ष निकालेको छ ।

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने रणनीतिक व्यापारका लागि भारतसँग बलियो कानुनी संरचना रहेको बताएका थिए ।

    तर, उनले प्रतिवेदनमा उठाइएका आरोपबारे स्पष्ट जवाफ दिएका थिएनन् ।

    भारतले इजरायलबाटै किन खरिद गर्छ हतियार ?

    विश्लेषकहरूका अनुसार भारतले इजरायलबाट हतियार खरिद गर्नुको प्रमुख कारण प्रविधि मात्रै होइन, त्यससँग जोडिएका सर्त र प्रतिबन्धको अभाव पनि हो ।

    अब्जर्भर रिसर्च फाउन्डेसनका कबिर तनेजाका अनुसार पश्चिमी मुलुकका केही हतियार उत्पादक कम्पनीले भारतलाई प्रविधि बिक्री गर्दा त्यसको स्रोत कोड उपलब्ध गराउन अस्वीकार गर्छन् ।

    यसले भारतमा निर्मित क्षेप्यास्त्रलाई विदेशी प्रणालीसँग जोड्न कठिन बनाउँछ ।

    तर, इजरायलले यस्ता प्राविधिक अवरोध हटाउन सहयोग गर्दै आएको छ ।

    उदाहरणका रूपमा उसले रुसी इल–७६ विमानमा प्रारम्भिक चेतावनी दिने राडार प्रणाली जडान गर्न सहयोग गरेको थियो ।

    तनेजाका अनुसार इजरायलको रक्षा प्रविधि बजार यस्तो छ, जहाँ भारतले आफूलाई आवश्यक पर्ने प्रविधि तुलनात्मक रूपमा कम सर्तमा खरिद गर्न सक्छ ।

    उनले भारतले पाकिस्तानसँगको सीमामा इजरायली ड्रोन परिचालन गर्ने गरेको उदाहरण दिँदै अमेरिकाबाट खरिद गरिएका एमक्यू–९ ड्रोन भने हतियारबिना उपलब्ध गराइएको र तिनको प्रयोगमा विभिन्न प्रतिबन्ध रहेको बताए ।

    ब्लारेलका अनुसार भारत र इजरायलबीचको विश्वास सन् १९९९ को कारगिल युद्धपछि थप बलियो भएको हो ।

    भारतले आणविक परीक्षण गरेपछि अन्य हतियार आपूर्तिकर्ता मुलुकले प्रतिबन्ध लगाएका बेला इजरायलले भने भारतलाई हतियारका पार्टपुर्जा र गोलीगठ्ठा उपलब्ध गराएको थियो ।

    उनका अनुसार इजरायलले हतियार आपूर्तिमा प्रतिबन्धको खासै वास्ता गर्दैन र प्रयोगसम्बन्धी सर्त पनि लगाउँदैन ।

    यो कुरा कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) दुवैले बुझेका छन् ।

    इजरायलले पश्चिमी मुलुकले उपलब्ध गराउन हिचकिचाउने प्रविधि पनि भारतलाई उपलब्ध गराउँदै आएको छ ।

    साथै, भारतको सैन्य भण्डारमा ठूलो हिस्सा ओगट्ने रुसी उपकरणसँग पनि इजरायली प्रणाली सहज रूपमा काम गर्न सक्छन् ।

    भारत अहिले हतियार खरिद गर्ने मात्रै होइन, आफ्नै देशमा उत्पादन गर्ने रणनीतिमा अघि बढिरहेको छ ।

    भारतले विदेशी उत्पादकलाई आफ्नो बजारमा प्रवेश गर्नुअघि उत्पादनको ठूलो हिस्सा स्वदेशमै निर्माण गर्नुपर्ने सर्त राख्न थालेको छ ।

    हैदराबादस्थित कारखाना यही रणनीतिको हिस्सा हो ।

    इजरायली कम्पनीका लागि भने यो व्यावसायिक अवसर पनि हो ।

    विचारधाराको निकटता कि रणनीतिक स्वार्थ ?

    भारत र इजरायलबीचको सम्बन्ध विचारधाराबाट निर्देशित छ वा व्यावहारिक रणनीतिक स्वार्थबाट भन्ने विषयमा विश्लेषकहरूबीच मतभेद छ ।

    आजाद एसाका अनुसार दुवै पक्षबीचको सम्बन्ध वैचारिक र रणनीतिक दुवै प्रकृतिको छ ।

    उनका अनुसार दुवै देशले आफूलाई सभ्यतागत राज्यका रूपमा प्रस्तुत गर्दै अस्तित्वमाथि संकट रहेको भाष्य निर्माण गर्छन् ।

    यसमा हिन्दुत्व र जियोनिज्मबीचको वैचारिक निकटता पनि जोडिएको छ ।

    हिन्दुत्व भारतीय जनता पार्टी र यसको वैचारिक मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को हिन्दू बहुसंख्यकवादी विचारधारा हो ।

    भारत संवैधानिक रूपमा धर्मनिरपेक्ष गणतन्त्र भए पनि आरएसएसले भारतलाई हिन्दू राष्ट्र बनाउने उद्देश्य राखेको छ ।

    इजरायली प्रधानमन्त्री नेतान्याहुले पनि भारतसँगको निकटताबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका छन् ।

    गत मे महिनामा कब्जामा रहेको पश्चिम किनारमा आयोजित एक कार्यक्रममा उनले विश्वमा इजरायलको वैधतामाथि प्रश्न उठाइने गरे पनि भारतमा त्यस्तो समस्या नरहेको बताएका थिए ।

    तर, कबिर तनेजाका अनुसार यो सम्बन्धको मुख्य आधार विचारधाराभन्दा सुरक्षा र व्यापारिक स्वार्थ हो ।

    उनका अनुसार भारतलाई सुरक्षा चुनौती सामना गर्न भरपर्दो साझेदार चाहिएको छ ।

    फ्रान्सले पनि इजरायलले जस्तै प्रविधि र सुविधा उपलब्ध गराए भारतले उसैसँग सहकार्य गर्नेछ ।

    ब्लारेल भने दुवै पक्षको तर्कमा केही सत्यता रहेको बताउँछन् ।

    उनका अनुसार आरएसएसका संस्थापक विचारकहरू विनायक दामोदर सावरकर र एमएस गोलवलकरले इजरायललाई एउटा नमुनाका रूपमा लिएका थिए ।

    उनीहरूले नाजी जर्मनीको पनि प्रशंसा गरेका थिए ।

    उनका अनुसार मोदी र नेतान्याहुबीचको व्यक्तिगत निकटता पनि लुकेको विषय होइन ।

    कांग्रेसका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री सलमान खुर्सिदले भने भारत सरकारले इजरायलसँगको सम्बन्ध विचारधाराका कारण हो वा रणनीतिक आवश्यकताका कारण हो भन्ने स्पष्ट नगरेको बताएका छन् ।

    मोदीभन्दा धेरै पुरानो भारत–इजरायल सम्बन्ध

    भारत र इजरायलबीचको रणनीतिक सम्बन्ध मोदी प्रधानमन्त्री हुनुभन्दा धेरै अघिदेखि सुरु भएको थियो ।

    भारतले सन् १९४७ मा प्यालेस्टाइन विभाजनसम्बन्धी संयुक्त राष्ट्रसंघको योजनाको विपक्षमा मतदान गरेको थियो ।

    सन् १९४९ मा इजरायललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिने प्रस्तावको पनि विरोध गरेको थियो ।

    यद्यपि, भारतले सन् १९५० मा इजरायललाई मान्यता दिएको थियो ।

    तर, पूर्ण कूटनीतिक सम्बन्ध स्थापना नगरी चार दशकभन्दा बढी समयसम्म मुम्बईमा इजरायली वाणिज्यदूत मात्रै राख्न अनुमति दिएको थियो ।

    कूटनीतिक दूरी कायम रहे पनि युद्धका बेला इजरायलले भारतलाई गोप्य रूपमा सैन्य सहयोग गर्दै आएको थियो ।

    सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गर्दा इजरायलले गोप्य रूपमा मोर्टार र उज्जी सबमेसिनगन उपलब्ध गराएको थियो ।

    इजरायली अभिलेखमा उल्लेख भएअनुसार भारतले इजरायली झण्डा नराखिएका जहाजबाट हतियार पठाउन अनुरोध गरेको थियो ।

    तर, तत्कालीन इजरायली प्रधानमन्त्री डेभिड बेन गुरियनले त्यसलाई अस्वीकार गरेका थिए ।

    सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध हुँदा अमेरिका र बेलायतले दुवै देशलाई हतियार आपूर्ति रोकेका थिए ।

    त्यसबेला इजरायलले भारतलाई मोर्टार उपलब्ध गराएको थियो ।

    सन् १९७१ मा भारत र पाकिस्तानबीच अर्को युद्ध हुँदा इजरायलले तत्कालीन शाह रेजा पहलवीको शासन रहेको इरानका लागि छुट्याइएका हतियार भारततर्फ पठाएको थियो ।

    आजाद एसाका अनुसार इजरायलको गुप्तचर संस्था मोसादले सन् १९६० को दशकको अन्त्यदेखि भारतको बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) सँग सहकार्य गर्दै आएको थियो ।

    भारतले पछि इजरायल र लेबनानबीचको सीमामा निर्माण गरिएको तारबारको अध्ययन गरी भारत प्रशासित कश्मीरमा सीमा सुरक्षा व्यवस्थापनका लागि त्यसबाट अनुभव लिएको थियो ।

    यद्यपि, भारतले त्यतिबेला प्यालेस्टाइनको पक्षमा आफ्नो समर्थन निरन्तर राखेको थियो ।

    सन् १९७४ मा प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) लाई मान्यता दिने पहिलो गैरअरब राष्ट्र भारत बनेको थियो ।

    सन् १९८८ मा प्यालेस्टाइन राज्यलाई पनि मान्यता दिएको थियो ।

    इजरायलसँग पूर्ण कूटनीतिक सम्बन्ध भने सन् १९९२ मा मात्रै स्थापना भयो ।

    त्यतिबेला भारतमा कांग्रेसको सरकार थियो ।

    सोभियत संघको विघटनपछि विश्व राजनीतिमा आफ्नो स्थान पुनर्मूल्यांकन गर्नुपर्ने परिस्थितिले पनि भारतको विदेश नीतिमा परिवर्तन ल्याएको थियो ।

    सन् १९९० को दशकको अन्त्यमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयी नेतृत्वको भाजपाको सरकारले पनि इजरायलबाट क्षेप्यास्त्र र प्रारम्भिक चेतावनी प्रणालीयुक्त विमान खरिद गर्ने कामलाई निरन्तरता दियो ।

    त्यतिबेला दुवै देशबीच संयुक्त उत्पादनबारे छलफल पनि सुरु भएको थियो ।

    सन् २००४ मा कांग्रेस पुनः सत्तामा फर्किएपछि सम्बन्ध थप अघि बढ्यो ।

    सन् २००६ मा ३५ करोड अमेरिकी डलरको सम्झौतामार्फत बराक–८ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली विकास गर्ने सहमति भयो ।

    यसले दुई देशको सम्बन्धलाई हतियार खरिदबाट संयुक्त प्रविधि विकासको चरणमा पुर्‍यायो ।

    एसाका अनुसार मोदी सरकारअन्तर्गत विकसित वैचारिक सम्बन्धको आधार यसअघि कांग्रेस नेतृत्वका सरकारसहित विभिन्न सरकारले निर्माण गरेको सम्बन्धमै रहेको थियो ।

    सन् २०१४ पछि के परिवर्तन भयो ?

    मोदी प्रधानमन्त्री बनेपछि भारत–इजरायल सम्बन्धमा आएको सबैभन्दा ठूलो परिवर्तन यसको सार्वजनिक दृश्यता हो ।

    यसअघि भारतले इजरायलबाट हतियार खरिद गरे पनि त्यसलाई गोप्य राख्ने, इजरायली झण्डा नभएका जहाजबाट सामान ल्याउने र औपचारिक भ्रमणलाई सीमित गर्ने नीति अपनाएको थियो ।

    सन् २०१४ पछि भने त्यो गोपनीयता हट्दै गयो ।

    सन् २०१४ को जुलाई र अगस्टमा गाजामा इजरायलले सैन्य आक्रमण गर्दा मोदी सरकारले भारतीय संसद्को माथिल्लो सदनमा इजरायलको निन्दा गर्ने प्रस्ताव पारित हुन दिएन ।

    सन् २०१५ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा इजरायलको सैन्य कारबाहीको जवाफदेहितासम्बन्धी प्रस्तावमा भारत पहिलोपटक मतदानमा सहभागी नभई तटस्थ बस्यो ।

    सन् २०१६ मा पनि भारतले त्यही नीति अपनायो ।

    सन् २०१७ मा मोदी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बने ।

    उनी सन् २०२६ को फेब्रुअरीमा पुनः इजरायल पुगेका थिए ।

    उक्त भ्रमणको केही दिनपछि इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए ।

    सन् २०२४ को सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले इजरायलमा हतियार निर्यात रोक्न माग गर्दै दायर निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको थियो ।

    अदालतले विदेश नीति आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो ।

    ब्लारेलका अनुसार प्यालेस्टाइनप्रतिको भारतको धारणा सन् १९७० को दशकमा निकै स्पष्ट थियो ।

    तर, अहिले त्यो केही अनिश्चित र अप्रत्याशित बनेको छ ।

    यसले मध्यपूर्वका कूटनीतिज्ञलाई भारतको वास्तविक अडान बुझ्न कठिन बनाएको उनको भनाइ छ ।

    तर, तनेजाले भने भारतको आधारभूत नीतिमा ठूलो परिवर्तन नभएको तर्क गरेका छन् ।

    भारतले अझै पनि दुई राष्ट्र समाधानको पक्षमा आफूलाई उभ्याउँदै आएको र आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनको भनाइ छ ।

    एसाले भने पछिल्लो गाजा युद्धका क्रममा भारतले इजरायललाई हतियार पठाएको, अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलविरुद्ध दायर नरसंहारसम्बन्धी मुद्दामा सहभागी नभएको, इजरायलमाथि हतियार प्रतिबन्ध लगाउने प्रस्तावको समर्थन नगरेको र भारतभित्र प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि नियन्त्रण गरेको विषय उठाएका छन् ।

    उनका अनुसार भारतको वास्तविक व्यवहारले प्यालेस्टाइनप्रतिको उसको घोषित नीतिभन्दा फरक तस्वीर देखाउँछ ।

    तनेजाका अनुसार भारतको आर्थिक शक्ति बढ्दै जाँदा विदेश नीतिमा पनि आत्मविश्वास बढेको छ ।

    सन् १९६० को दशकमा भारतको अर्थतन्त्र सानो थियो र शक्तिशाली मुलुकलाई चिढ्याउँदा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था थियो ।

    अहिले करिब चार ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनेको भारतले आफ्नो व्यापार र सुरक्षा हितका लागि आवश्यक साझेदार छनोट गर्न सक्छ ।

    भारतको भूमिका र गाजाको युद्धमाथि उठेको प्रश्न

    भारत–इजरायल सम्बन्धको सबैभन्दा गम्भीर प्रश्न जवाफदेहितासँग जोडिएको छ ।

    संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले जुन महिनामा सार्वजनिक गरेको प्रतिवेदनमा इजरायलको दुई वर्ष लामो गाजाको युद्धमा कम्तीमा २० हजार १७९ प्यालेस्टिनी बालबालिका मारिएको उल्लेख गरेको थियो ।

    आयोगले नरसंहारमा प्रयोग भएका वा हुन सक्ने हतियारको आपूर्ति रोक्न विभिन्न देशलाई आग्रह गरेको थियो ।

    इजरायलले भने उक्त प्रतिवेदनका निष्कर्ष पूर्ण रूपमा अस्वीकार गरेको थियो ।

    भारत सरकार र भारतीय कम्पनीहरू गाजामा भएका युद्ध अपराधमा संलग्न छन् कि छैनन् भन्ने प्रश्नमा एसाले आफूलाई त्यस्तो लाग्ने बताएका छन् ।

    उनका अनुसार भारतलाई आफ्नो आपूर्तिको सम्भावित प्रयोगबारे जानकारी थिएन भन्न मिल्दैन ।

    अनुसन्धानकर्ता सिंहले पनि नरसंहारका लागि प्रयोग भइरहेका सामग्री उपलब्ध गराउने कुनै पनि देश त्यसमा जिम्मेवार हुने तर्क गरेका छन् ।

    कांग्रेस नेता तथा पूर्वविदेशमन्त्री खुर्सिदले कांग्रेस नेतृत्वका केही राज्य सरकारले पनि इजरायलबाट फोनको डेटा निकाल्ने प्रविधि खरिद गरेको भन्ने समाचारलाई अस्वीकार गरेका छैनन् ।

    तर, उनले यस्तो प्रविधिको प्रयोगमा स्पष्ट सीमा र नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

    उनका अनुसार भारत सरकारले इजरायलसँग गर्ने कारोबारमा त्यस्ता सीमा स्पष्ट देखिएका छैनन् ।

    यद्यपि, खुर्सिदले वर्तमान विश्व परिस्थितिमा सबै विषय आफूले चाहेअनुसार अघि बढाउन सम्भव नहुने स्वीकार गर्दै भनेका छन्, ‘हामीले केही सम्झौता गर्नैपर्छ ।’ –अलजजीरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images