images
images
  • पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उडानमा यात्रुको आकर्षण बढ्दै

    कास्की– पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको पाइएको छ ।

    दुई महिनामा दुबई–पोखरा–दुबई उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिनुले यो विमानस्थलप्रति यात्रीको आकर्षण बढेको ठानिएको हो ।

    फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म गरेको (दुई तर्फी १२२ उडान) दुबई–पोखरा–दुबई उडानमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ र यहाँबाट पाँच हजार ३५९ दुबई गएका पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए ।

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानको सम्भावना बढाएको बताए ।

    उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या बढ्न सक्ने बताए ।

    नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौंस्थित भारतीय दूतावासबाट अनापत्ति प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । यसका लागि दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए ।

    विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।

    फ्लाइ दुबईले पहिलोपटक नियमित अन्तरराष्ट्रिय उडान थालेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images