images
images
  • राउटे समुदायले मुख्यमन्त्री पाण्डेलाई दिए काठको कचौरा

    काठमाडौं – आफ्नै हातले काठ कुँदेर बनाएको कचौरा बोकेर सुर्खेतबाट पोखरा पुगेका राउटे समुदायका प्रतिनिधिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो सीप र संस्कृतिको चिनोस्वरूप काठको कचौरा उपहार दिएका छन् ।

    मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा राउटे मुखिया प्रकाशसहित तीन सदस्यीय टोलीले समुदायको परम्परागत जीवनशैली, वर्तमान अवस्था र आफूहरूले भोगिरहेका समस्याबारे जानकारी गराएको थियो। टोलीले समुदायका चुनौती र आवश्यकताबारे मुख्यमन्त्रीसँग कुरा राख्दै परम्परागत सीपबाट तयार गरिएको काठको कचौरा प्रदान गरेको हो ।

    काठका भाँडाकुँडा बनाउने परम्परागत सीप र विशिष्ट जीवनशैलीका कारण परिचित राउटे समुदाय नेपालको मौलिक सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा मानिन्छ। मुख्यमन्त्रीलाई दिइएको काठको कचौरा उनीहरूको पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र सांस्कृतिक परम्पराको प्रतीक बनेको छ ।

    भेटका क्रममा मुख्यमन्त्री पाण्डेले राउटे समुदायको भाषा, संस्कृति, मौलिक जीवनशैली र पहिचान संरक्षण गर्नु राज्य र समाजको साझा दायित्व भएको बताए। परम्परागत जीवनशैलीको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, सुरक्षा र आधारभूत सेवामा उनीहरूको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

    राउटे समुदायका प्रतिनिधिसँगको भेटले उनीहरूको जीवनशैली र समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको मुख्यमन्त्रीले बताए। भेटपछि उनले टोलीको पोखरा भ्रमण तथा फर्किने यात्राका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images