काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। उसका लागि ओपनर मनिषा बोहराले ३० र स्नेहा महराले २२ रन बनाइन् । अनु कडायतले १५ बलमा एक चौका र एक छक्कासहित अविजित २३ रन जोडिन्। कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५ रनको योगदान दिइन् ।
बागमतीकी कप्तान अस्मिना कर्माचार्यले ३ विकेट लिइन्। संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट हात पारे । ११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बागमतीका लागि ओपनर हेलिषा गुरुङले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ६ चौकासहित अविजित ५५ रन बनाइन् ।
त्यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० र सेविका कुमारी यादवले ३ रन जोडिन् । सुदूरपश्चिमका अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए। अविजित ५५ रन बनाउँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित भइन् ।





















