काठमाडौं- सन् २०२६ को विश्वकप फुटबलको आयोजना गरेपछि अमेरिका लगातार संसारका महत्त्वपूर्ण खेलकुद प्रतियोगिता आयोजनाको अवसरमा जुटेको छ । सन् २०२८ को ओलम्पिक आयोजनाको तयारीमा जुटेको अमेरिकाले सन् २०३१ को महिला फुटबल विश्वकप समेत आयोजनाको अवसर पाएको छ । अमेरिकाले यो प्रतियोगिता मेक्सिको, जमैका र कोस्टारिकासँग मिलेर आयोजना गर्न लागेको हो । बेलायतले भने सन् २०३५ को विश्वकप आयोजना गर्नेछ ।
अमेरिकामा हुने महिला फुटबल विश्वकप विशेष महत्त्वको हुनेछ । पहिलो पटक ४८ देशको सहभागितामा महिला विश्वकप हुन लागेको छ । अमेरिकी फुटबल महासङ्घका प्रमुख किन्डी पार्ली कोनले यो इतिहासकै सबैभन्दा ठुलो खेल महोत्सवको रूपमा रहने दाबी गरेका छन् । यी चार देशको संयुक्त आयोजनामा हुने प्रतियोगिताले केही महत्त्वपूर्ण अर्थ बोकेको छ ।
अमेरिकालाई अहिले फुटबल प्रतियोगिता आयोजना गर्न कुनै प्रतिद्वन्द्वी चाहँदैन । पुरुष विश्वकपको आयोजनाको सवालमा पनि यस देशले क्यानडा र मेक्सिकोसँग सहकार्य गरिसकेको छ । अमेरिकाले महिला विश्वकप फुटबल आयोजना गर्नुअघि सन् २०२७ मा ब्राजिलले महिला विश्वकप फुटबलको आयोजना गरिसकेको हुनेछ ।
सन् २०३१ को यस बृहत् खेल महोत्सवमा भने अमेरिकाको नेतृत्वदायी भूमिका रहनेछ । उत्तर अमेरिकाका २० सहरमा प्रतियोगिता आयोजना हुनेछ । अमेरिकाका १४ सहरमा खेल हुनेछ भने मेक्सिकोका चार सहरका खेल हुनेछ । कोस्टारिकाको सानजोसे र जमैकाको किङ्सटनमा खेल हुनेछ ।
यसको चार वर्षपछि हुने विश्वकप पनि १९ सहरमा आयोजना हुनेछ । उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्समा खेल हुनेछन् । विश्व फुटबल महासङ्घ (फिफा) का २११ सदस्य देशहरूको अनलाइन मतदानको माध्यमबाट आयोजकको छनोट भएको हो । यसअघि सन् १९९९ मा अमेरिका एक्लैले महिला विश्वकप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । सन् २००३ मा पनि आयोजना गरेको थियो । सन् १९९९ मा भने अमेरिकाले उपाधि नै जितेको थियो ।
२१औं शताब्दीको निर्विवाद महाशक्ति अमेरिकाले सहकार्यमै खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । सन् २०२४ मा अमेरिकाले टी २० विश्वकप क्रिकेटको आयोजना गरेको थियो । सो विश्वकप अमेरिका र वेस्ट इन्डिज मिलेर आयोजना गरेका थिए । यसो त वेस्ट इन्डिज आफैंमा धेरै देशहरूको टोली हो । यस अर्थमा सो विश्वकप क्रिकेट अमेरिकासहित संसारका ६ स्वतन्त्र राज्यको आयोजनामा भएको थियो ।
एन्टिगुवा एन्ड बर्मुडा, बारबाडोस, गुयना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनडा एवम् ट्रिनिडाड एन्ड टोबागोका मुख्य सहरमा विश्वकप क्रिकेट आयोजना भएको हो ।
टीम गेममा अमेरिकी प्रभाव
संसारमा टीम गेममा बलियो देशको नाम लिँदा केही वर्ष अघिसम्म अस्ट्रेलिया अग्रणी थियो । यस क्रमलाई चुनौती दिने क्रममा अमेरिका अघि छ । अमेरिकाले बास्केटबलमा आफ्नो प्रभावलाई अझ कायम नै राखेको छ । भलै बास्केटबलको महिला स्पर्धामा पछिल्ला केही वर्ष फ्रान्स र इटाली जस्ता देश अमेरिकालाई चुनौती दिने क्रममा अघि बढेका छन् ।
महिला फुटबलको सवालमा अमेरिका कुनै समय शक्तिको रूपमा स्थापित थियो । सन् १९९० को दशकमा अमेरिकी चुनौतीको रूपमा चीन र नर्वे रहेका थिए । यसपछि जर्मनी र स्वीडेन नयाँ शक्तिको रूपमा उदाए । पछिल्लो समय फुटबलका हरेक उमेर समूह र हरेक शैलीमा स्पेनले आफूलाई निर्विवाद शक्तिको रूपमा स्थापित गरेको छ । तथापि अमेरिका पनि महत्त्वपूर्ण शक्ति भएको कुरा नकार्न मिल्दैन । बेसबलको एक शक्ति राष्ट्र सफ्टबलमा पनि उत्कृष्ट देश मानिन्छ ।
कुनै समय अमेरिका कमजोर मानिएको क्रिकेट र पुरुष फुटबलमा भने अमेरिका अघि बढेको छ । सुधारिएको अमेरिकी क्रिकेटमा दक्षिण एसियाली आप्रवासी खेलाडीको उपस्थितिले धरै सहयोग गरेको छ ।
भारतीय मूलका सफ्टवेयर इन्जिनियर सौरभ नेत्रभल्करसहित मोनान्क पटेलको सबैभन्दा धेरै भूमिका छ । भारतको राष्ट्रिय टोलीबाट यू-१९ विश्वकप खेलिसकेका नेत्रभल्कर अध्ययनको सिलसिलामा अमेरिका पुगेका हुन् । यसैगरी विकेटकिपर ब्याट्सम्यान पटेल पनि गुजरातमा जन्मिएका हुन् । अमेरिकी क्रिकेटमा मिलिन्द कुमार, नोसतुस किलिन्गे र सायन जहाँगिर पनि छाएका छन् ।
फुटबलमा फेरि शक्तिको रूपमा उदाउने सम्भावना
अहिले महिला फुटबलको विश्व वरीयता क्रममा स्पेन पहिलो र अमेरिका दोस्रो स्थानमा छ । स्पेनको टोली विगत केही वर्षदेखि हाबी छ । बालोन डीओर अवार्डमा समेत स्पेनी महिलाको प्रभाव रहेको धेरै वर्ष भइसकेको छ । तर यसको मतलब यो होइन कि स्पेन अजेय हो । स्पेनलाई चुनौती दिने शक्ति अमेरिका नै हो ।
अहिले अमेरिकाको फुटबलमा ट्रिपल एसप्रोसोको चर्चा छ । यो साँच्चै राम्रो र आकर्षक आक्रमण समूह हो । ट्रिनिटी रोडम्यान, सोफिया विल्सन र मेलोरी स्वानसन अमेरिकाका नाम चलेका स्टार हुन् । भेट्रान मिडफिल्डर लिन्डसे हिप र रोज लेभल पनि टोलीका प्रमुख खेलाडी हुन् ।
अमेरिकाको राजनीति, विज्ञान र खेलकुदमा महिलाको उपस्थिति र प्रभावकारिता पछिल्लो वर्ष बढिरहेको छ । लोकप्रिय खेलमा अमेरिकी प्रभाव त छँदैछ । ५ वर्षपछि घरेलु भूमिमा आयोजना हुने महिला विश्वकप फुटबल अमेरिकाका लागि धेरै अर्थपूर्ण छ । लस एन्जलस ओलिम्निदेखि महिला विश्वकपसम्म सानदार नतिजासहित आफ्नो आयोजनालाई अझ स्वर्णिम बनाउने र नयाँ युगको सुरुवात गर्न अमेरिकाको लागि यो सुनौलो अवसर हो ।
-बीबीसी, ओलम्पिक डटकम, फिफा र क्रिकइन्फोलगायतको सहयोगमा


मनोज घिमिरे 


















