ललितपुर– १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको बुद्धिचाल खेलाडी छनोट प्रतिस्पर्धाको नतिजा सार्वजनिक भएको छ।
सात चरणको प्रतिस्पर्धापछि पुरुष तथा महिला दुवैतर्फका खेलाडीले प्राप्त गरेको अंकका आधारमा अन्तिम वरीयता निर्धारण गरिएको हो।
क्लासिकल विधामा पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठले ७ चरण खेलमा ६ अंक जोड्दै पहिलो स्थान हासिल गरेका छन्। समान ६ अंक प्राप्त गरेर ललितपुरका सुरोज महर्जन टाइब्रेकरका आधारमा दोस्रो स्थानमा रहे। ५ अंक जोडेर दोलखाका राजीव कार्की तेस्रो स्थानमा रहन सफल भए।
पुरुषतर्फ सत्याम शर्मा, मोहम्मद इमरान खान, बिमल भण्डारी र क्यान्डिडेट मास्टर (सीएम) नवीन तण्डुकारले समान ५ अंक प्राप्त गर्दै क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गरेका छन्।
त्यस्तै शैलेन्द्र न्यौपाने, प्रतीक सुवेदी र सुभाषकुमार गुरुङले समान ४.५ अंक प्राप्त गर्दै क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहे।

यसैगरी महिला खेलाडीबीच भएको प्रतिस्पर्धामा रामेछापका ग्लोसी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ७ चरणमा ६.५ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेकी छन्।
काठमाडौंका नेलिशा ओझा ५ अंकसहित दोस्रो स्थानमा रहँदा चितवनका लक्ष्मी कँडेल समान ५ अंकका साथ टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहिन्। ओजस्वी श्रेष्ठले पनि ५ अंक प्राप्त गर्दै चौथो स्थान हासिल गरिन्।
महिलातर्फ शुभेच्छा घिमिरे, यशस्वी महर्जन र मानश्विनी शर्मा समान ४ अंकसहित क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे। त्यस्तै श्रेयश्री तुलाधर, आयुप्शा सिटिखु र पारिधि खत्रीले समान ४ अंक प्राप्त गर्दै क्रमशः आठौँ, नवौँ र दसौँ स्थान हासिल गरेका छन्।
यसैबीच छनोट प्रतियोगिताको पुरुष तथा महिला दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचाल छनोटका लागि गठन गरेको प्राविधिक समितिका संयोजक राजु ताम्राकारले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
लगत्तै बुद्धिचालको अर्को र्यापिड विधातर्फको छनोट खेल सुरु भएको छ। बुधबार ब्लिट्ज विधाका खेलहरू सम्पन्न गर्दै खेलाडी छनोट कार्य पूरा हुनेछ।






















