images
images
  • अल्काराजको अविश्वसनीय पुनरागमनः ८४ दिनमा चार उपाधि

    काठमाडौं– पुरुष टेनिस सिजनको सुरुवात जसरी भएको थियो, अन्त्य पनि त्यसरी नै भयो। स्पेनका कार्लोस अल्काराज मुस्कुराउँदै टेनिसका सबैभन्दा प्रतिष्ठित उपाधिमध्ये एक ट्रफी उचालिरहेका थिए।

    जनवरीमा उनले अस्ट्रेलियन ओपनको उपाधि जित्दै करिअर ग्रान्डस्लाम पूरा गरेका थिए। त्यसको १० महिनापछि इटालीको टुरिनमा उनले पहिलो पटक एटीपी फाइनल्सको उपाधि जित्ने लामो प्रतीक्षा समाप्त गरे।

    पछिल्ला केही सातादेखि अल्काराजको प्रदर्शन हेर्दा यस वर्ष चार महिनासम्म उनले टेनिस र्‍याकेटसमेत मुस्किलले समातेका थिए भन्ने कुरा पत्याउन कठिन हुन्छ। नाडीको चोटका कारण उनले क्लेकोर्ट सिजनको अधिकांश समय र ग्रास कोर्टको पूरै सिजन गुमाएका थिए। तर उनले आश्चर्यजनक पुनरागमन गर्दै आइतबार विश्व नम्बर एक अलेक्जान्डर जेभरेभलाई सहजै पराजित गरे।

    अल्काराजले पुनरागमन गरेको ८४ दिन मात्रै भएको छ। उनले यूएस ओपनबाट कोर्टमा फर्किएका थिए। त्यति बेला खेलको पर्याप्त अभ्यास नहुँदा उनको फिटनेसमा कमी देखिनु स्वाभाविक थियो। सुरुवाती चरणका खेल जिते पनि क्वार्टरफाइनलमा बेन शेल्टनसँग पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा उनी पराजित भएका थिए।

    त्यसयता स्पेनिस खेलाडीले खेलेका २२ मध्ये २१ खेल जितेका छन्। पछिल्ला १४ खेलमा उनी लगातार विजयी भएका छन्। यस अवधिमा सहभागी भएका पाँच प्रतियोगितामध्ये चारको उपाधिसमेत जितेका छन्।

    उनले इतिहास रच्ने क्रमलाई पनि निरन्तरता दिएका छन्। चार वटै ग्रान्डस्लाम र वर्षको अन्तिम प्रतियोगिता एटीपी फाइनल्स जित्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका छन्। नोभेम्बरको सुरुवातमा भियना ओपन र पेरिस मास्टर्स जितेका उनले लगातार तेस्रो प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाए। शीर्ष १० वरीयताका खेलाडीविरुद्धका पछिल्ला नौ वटै खेलमा पनि उनी विजयी भएका छन्।

    पूर्वविश्व नम्बर एक अल्काराज अहिले जेभरेभ र यानिक सिनरपछि विश्व वरीयताको तेस्रो स्थानमा छन्। चोटका कारण गुमाएको समयको क्षतिपूर्ति गर्दै उनी टेनिसको शीर्ष स्थानमा छिट्टै पुनः स्थापित हुन चाहन्छन्।

    अल्काराजले भने, ‘मलाई लाग्छ, सबैले आफूलाई नम्बर एक खेलाडीका रूपमा हेर्छन्। खेलमा सहभागी प्रत्येक खेलाडीले आफूलाई त्यही स्तरको खेलाडीका रूपमा लिनुपर्छ।’

    उनले थपे, ‘म, साशा (जेभरेभ), यानिक (सिनर), शेल्टन (बेन) सबैले आफूमा त्यस्तो आत्मविश्वास राख्नुपर्छ। आफूमाथि विश्वास हुनु निकै महत्त्वपूर्ण छ । तर अहिले नम्बर एक साशा हुन्। उनी वास्तवमै त्यसको हकदार छन्।’

    अल्काराजको खेलमा फर्कियो पुरानै जादु

    carlos alkaraz

    दर्शकलाई रोमाञ्चित पार्ने विविधतापूर्ण खेल शैली, विनाशकारी शक्तिशाली प्रहार र आश्चर्यजनक शारीरिक क्षमताले अल्काराजको खेलमा फर्किन धेरै समय लगाएनन्। बुधवार ह्यामस्ट्रिङमा चोट लागेपछि उनको बायाँ खुट्टामा बाक्लो पट्टी बाँधिएको थियो। त्यसका बाबजुद टुरिनमा विश्वका शीर्ष खेलाडीले पनि उनलाई रोक्न सकेनन्।
    त्यसमा जेभरेभ पनि पराजित भए।

    यस वर्ष पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका जेभरेभले आफ्नो करिअरका पहिलो दुई ठुला उपाधि जितेका थिए। उनले यस सिजन टुरमा सर्वाधिक ६९ खेल जितेका थिए।

    सात ग्रान्डस्लाम उपाधि जितिसकेका अल्काराज पछिल्ला महिनामा मानसिक रूपमा पनि आफूमा ठुलो परिवर्तन आएको बताउँछन्। उनका अनुसार खेलको मानसिक पक्षमा आएको सुधारले उनलाई नयाँ उचाइमा पुर्‍याएको छ।

    विशेषगरी टेनिसबाट टाढा रहनुपरेको समयले जीवन र खेलप्रतिको दृष्टिकोण परिवर्तन गरेको उनले बताएका छन्। यही अनुभवले सिजनको अन्त्यतिर उनको उत्कृष्ट प्रदर्शनमा प्रेरणा दिएको छ।

    अल्काराजले भने, ‘चोटले मलाई वास्तवमा के महत्त्वपूर्ण छ भन्ने कुरा बुझायो । महत्त्वपूर्ण कुरा उपाधि जित्नु होइन। टेनिस खेल्न पाउनु हो। स्वस्थ भएर कोर्टमा उत्रिन र प्रतिस्पर्धा गर्न पाउनु हरेक पटक एउटा उपहार हो भन्ने मैले महसुस गरेँ।’

    ‘जब यो कुरा बुझिन्छ, त्यसपछि सबै कुरा सहज हुँदै जान्छ। अहिले म धेरैजसो समय तनाव महसुस गर्दिनँ। मलाई लाग्छ, म पहिलेभन्दा परिपक्व भएको छु। कोर्टमा समस्या र कठिन परिस्थितिको सामना गर्ने मेरो तरिका पनि परिवर्तन भएको छ’, उनले थपे।

    carlos alkaraz1

    वर्षको अन्तिम प्रतियोगिताको उपाधि जितेपछि अल्काराज खुसीले मैदानमा पल्टिए। त्यसपछि उनी आफ्नो टोली र परिवारसँग खुसी साट्न दर्शक दीर्घातर्फ दौडिए। यो उनको करिअरको ३०औँ उपाधि थियो।

    सक्रिय एटीपी खेलाडीमध्ये उपाधि सङ्ख्याका आधारमा उनी प्रतिद्वन्द्वी सिनरसँग बराबरीमा पुगेका छन्। उनीभन्दा अगाडि पुरुष टेनिसका कीर्तिमानी २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच मात्रै छन्। जोकोभिचको नाममा १०२ उपाधि छ।

    चोटमुक्त रहन सके अल्काराजको सफलताको यात्रा अझै अगाडि बढ्नसक्छ। पेरिसमा प्राप्त जितसँगै उनी करिअर गोल्डेन मास्टर्स पूरा गर्न अब दुई उपाधि मात्रै टाढा छन्। यो उपलब्धि हासिल गर्न ग्रान्डस्लामभन्दा तलको स्तरका मास्टर्स १००० का सबै नौ प्रतियोगिता जित्नुपर्छ। यसअघि सिनर र जोकोभिचले यो उपलब्धि हासिल गरिसकेका छन्।

    अर्को सिजन क्यानडा र सांघाईमा हुने प्रतियोगिता जित्न सके उनले गोल्डेन मास्टर्स पूरा गर्नेछन्। त्यसपछि टेनिसमा सबै उपलब्धि हासिल गर्न उनको लागि ओलम्पिक एकलतर्फको स्वर्ण पदक मात्रै बाँकी रहनेछ।

    अल्काराजको यस्तो वर्चस्व कायम गर्ने योजनामा सबैभन्दा ठुलो चुनौती सिनर नै देखिन्छन्। जेभरेभविरुद्ध अल्काराजको जित–हारको इतिहास सकारात्मक रहेकाले पनि सिनर उनका प्रमुख प्रतिस्पर्धी हुन्।

    इटालीका सिनर विम्बल्डनपछि घुँडाको समस्याका कारण कोर्टबाहिर छन्। उनले जनवरीमा हुने अस्ट्रेलियन ओपनबाट टेनिसमा फर्किने लक्ष्य राखेका छन्। त्यही प्रतियोगितामा अल्काराजले आफ्नो उपाधि रक्षा गर्नेछन्।

    फाइनल जितेपछि अल्काराजले भने, ‘आजको फाइनलमा मैले मेरा हजुरबुबाले सधैँ कोर्टमा उत्रिँदा देखाउनुपर्छ भनेर सिकाउने तीन वटा ‘सी’ प्रयोग गर्नुपरेको थियो– काबेजा, कोराजोन र कोजोनेस।’

    ‘अङ्ग्रेजीमा यसको अर्थ हेड, हार्ट र बल्स अर्थात् दिमाग, मुटु र साहस हो। आजको खेलमा आवश्यक परेको कुरा यही थियो। यो ट्रफी उचाल्नु मेरो लामो समयदेखिको सपना थियो। यसले मेरो जीवनमा ठुलो अर्थ राख्छ’, उनले भने।

    -एजेन्सी/म्याड्रिड

    प्रतिक्रिया दिनुहोस्
    images
    images