काठमाडौं– कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पु¥याए ।
कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन ।
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।
प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे ।
शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो ।
टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिए ।
ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए ।
बलिङतर्फ उनले सात विकेट लिए ।
कप्तानका रूपमा टोलीलाई उपाधि दिलाउनाका साथै व्यक्तिगत प्रदर्शनमा प्रभाव छाड्न सफल ऐरी यस संस्करणका सफल कप्तान बने ।
उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको नेतृत्व पनि कम महत्वपूर्ण रहेन ।
उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो ।
रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए ।
गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव जारी राखे ।
काठमाण्डु गोर्खाजका कप्तान करण केसीका लागि तेस्रो संस्करण सम्झनलायक रह्यो ।
उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो ।
व्यक्तिगत प्रदर्शनमा करणले आठ खेलमा १० विकेट लिए भने ब्याटिङबाट ९० रन जोडे ।
चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए ।
उनको नेतृत्वमा चितवन प्लेअफसम्म पुग्न सफल भयो ।
यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने उनले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन् ।
रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङमा पाँच विकेट लिए ।
कर्णाली याक्सले प्रतियोगिताका क्रममा कप्तान परिवर्तन गरेको थियो ।
सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइयो ।
सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए ।
बलिङमा उनको प्रदर्शन अझ प्रभावशाली रह्यो ।
उनले आठ दशमलव ९० को इकोनोमी रेटमा १० विकेट लिए ।
यता, पहिलोपटक एनपिएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए ।
यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद रहन सकेन ।
उनको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन ।
पोखरा एभेन्जर्सले खराब प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन ग¥यो ।
सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए ।
लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।
कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो ।
उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए ।
बलिङमा पनि उनले छ विकेट लिए ।
नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट हात पारे ।
जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण टोली र व्यक्तिगत दुवै हिसाबले चुनौतीपूर्ण रह्यो ।
उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो ।
तर, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो प्रभाव देखाए ।
उनले सात खेलमा ११ विकेट लिनाका साथै ब्याटिङमा ९० रन बनाए ।






















