images
images
  • प्रियंश आर्यको ऐतिहासिक इनिङ्स, टी-२० इतिहासकै दोस्रो ठुलो व्यक्तिगत स्कोर

    काठमाडौं– प्रियंश आर्यले तमिलनाडुविरुद्ध सैयद मुस्ताक अलि ट्रफीमा ६८ बलमा १८१ रन बनाउँदै पुरुष टी-२० क्रिकेट इतिहासमा भारतीय खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोर बनाएका छन् । उनको यो स्कोर समग्र टी-२० इतिहासकै दोस्रो ठुलो व्यक्तिगत स्कोरसमेत बनेको छ ।

    २५ वर्षीय ओपनर तथा दिल्लीका कप्तान आर्य दक्षिण अफ्रिकाका ल्हुआन–द्रे प्रिटोरियसले गत महिना सीएसए टी-२० च्यालेन्जमा बनाएको अविजित १८८ रनको सर्वकालीन कीर्तिमानभन्दा सात रनले पछि रहे । प्रिटोरियसको १८८ रन टी-२० इतिहासकै अहिलेसम्मको सर्वाधिक व्यक्तिगत स्कोर हो ।

    आर्यको विस्फोटक ब्याटिङको मद्दतमा दिल्लीले पाँच विकेट गुमाएर २७५ रन बनायो । यो सैयद मुस्ताक अलि ट्रफीको इतिहासमा संयुक्त रूपमा तेस्रो ठुलो योगफल हो ।

    इन्दोरस्थित डेली कलेज मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीका लागि आर्यले आक्रामक सुरुवात गरे । उनले केवल १८ बलमा अर्धशतक पूरा गर्दा पावरप्ले समाप्त हुँदा दिल्लीले एक विकेट गुमाएर ९४ रन बनाएको थियो ।

    त्यसपछि आर्यले केवल ३६ बलमा आफ्नो टी-२० करियरको तेस्रो शतक पूरा गरे । उनले थप २४ बल खेल्दै व्यक्तिगत स्कोर १५० रन पुर्‍याए । आफ्नो इनिङ्समा आर्यले १९ छक्का प्रहार गरे ।

    यससँगै उनी टी-२० को एउटै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानमा फिन एलेनसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् ।

    एम सिद्धार्थको बलमा लगातार चौका र छक्का प्रहार गर्दै आर्यले कृश गेलको अविजित १७५ रनको कीर्तिमानसमेत उछिने । गेलले बनाएको उक्त स्कोर करिब १३ वर्षसम्म टी-२० क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरका रूपमा कायम थियो । गत महिना प्रिटोरियसले उक्त कीर्तिमान तोडेका थिए ।

    यस क्रममा आर्यले सन् २०२१ मा किरण नवगिरेले बनाएको ७६ बलमा १६२ रनको कीर्तिमान पनि तोडे । नवगिरेको उक्त स्कोर भारतीय खेलाडीको सर्वाधिक व्यक्तिगत टी-२० स्कोर थियो ।

    आर्यलाई पन्जाब किंग्सले आईपीएल २०२७ को अक्सनअघि टोलीमा कायम राखेको छ । उनले यस वर्षको सुरुवातमा आईपीएल २०२६ मा देखाएको उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । आईपीएल २०२६ मा उनी तीव्र गतिमा रन बनाउने ओपनरमध्ये एक थिए ।

    सैयद मुस्ताक अलि ट्रफीमा दिल्लीले यस पटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोलीले आफ्ना सबै खेलमा पहिले ब्याटिङ गरेको छ । ६ इनिङ्समध्ये पाँचमा दिल्लीले कम्तीमा २०० रन बनाएको छ ।

    सौराष्ट्रविरुद्धको खेलमा मात्र दिल्लीले २०० रनको आँकडा पार गर्न सकेन । संयोगवश, उक्त खेल नै दिल्लीले प्रतियोगितामा गुमाएको एक मात्र खेल हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images