काठमाडौं – कर्णाली प्रदेशमा मंसिर १६ गतेदेखि आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको महिला क्रिकेट टोली घोषणा गरिएको छ । अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भएको प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताबाट टोली चयन गरिएको हो। छनोट प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ५० जना महिला क्रिकेट खेलाडी सहभागी भएका थिए ।
सहभागी खेलाडीको प्रदर्शन, क्षमता र खेलकौशलको मूल्यांकनपछि उत्कृष्ट खेलाडी समेटेर टोली घोषणा गरिएको क्रिकेट छनोट प्राविधिक उपसमितिका संयोजक सञ्जोग पोखरेलले जानकारी दिए ।
घोषित टोलीमा कप्तान अस्मिना कर्माचार्यसहित कञ्चन श्रेष्ठ, विकेटकिपर विपिशा शाही, कृष्मा गुरुङ, लक्ष्मिमाया रुम्बा लामा, हेलिशा गुरुङ, पूजा साउद, संस्कृति फुयाँल, सम्भाव्या ढकाल, सबिका कुमारी यादव, अनुषा रोकाहा, ऐली यादव, हिमानी धामी र श्रीजा घिमिरे रहेका छन् । छनोट भएका १४ खेलाडीमध्ये १० जना मुख्य टोलीमा र चार जना वैकल्पिक खेलाडीका रूपमा राखिएको संयोजक पोखरेलले बताए ।
खेलाडी छनोटका क्रममा ब्याटिङ, बलिङ, फिल्डिङ र क्याचिङ क्षमतालाई मुख्य आधार बनाइएको थियो । प्रतियोगितामा खेलाडीले देखाएको व्यक्तिगत प्रदर्शन र समग्र खेलकौशलको मूल्यांकन गरेर टोली तयार पारिएको पोखरेलको भनाइ छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले महिला क्रिकेटमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामार्फत प्रदेशको प्रतिनिधित्व गर्ने टोलीले राष्ट्रियस्तरमा आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर पाउनेछ ।






















