काठमाडौं – रश्मिकुमारी घिसिङले सनसनीपूर्ण दोहोरो ह्याट्रिक गरेपछि सशस्त्र प्रहरी बल ९एपिएफ० फुटबल क्लबले दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा शानदार जित निकालेको छ ।
झापाको दुधेमा सोमबार भएको खेलमा एपिएफले भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। अब सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
एपिएफको जितमा रश्मिकुमारी घिसिङ एक्लैले ६ गोल गरिन् । उनले खेलको २६औँ, ३०औँ र ४५औँ मिनेटमा लगातार तीन गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।
दोस्रो हाफमा पनि रश्मिको गोल गर्ने लय रोकिएन। उनले ५२औँ मिनेटमा पेनाल्टीमार्फत चौथो गोल गरिन्। भुटानकी पुनम चेम्जोङले डिबक्सभित्र रश्मिलाई फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।
त्यसको तीन मिनेटपछि अर्थात् ५५औँ मिनेटमा कुसुम खतिवडाको क्रसमा हेडमार्फत गोल गर्दै रश्मिले व्यक्तिगत पाँचौँ गोल गरिन् । ५९औँ मिनेटमा कुसुमसँगको तालमेलमा छैटौँ गोल पूरा गर्दै उनले दोहोरो ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरिन् ।
एपिएफका लागि अनिता केसीले ६२औँ मिनेटमा सातौँ गोल थपिन्। रश्मिको पासमा अनिताले गोल गरेपछि एपिएफले ७–० को जित सुनिश्चित गरेको थियो ।
खेलभरि एपिएफले विपक्षीमाथि दबाब कायम राख्यो। भुटानी टोलीले भने एपिएफको रक्षापंक्ति तोड्दै गोलको अवसर सिर्जना गर्न सकेन ।
हालै धरानमा सम्पन्न धरान महिला गोल्डकपको उपाधि जितेको एपिएफले झापा गोल्डकपमा पनि उपाधिको दाबेदारी प्रस्तुत गरेको छ। गत संस्करणको उपविजेता एपिएफ यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा छ ।






















