कास्की– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट ७५० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा समावेश ३२ खेलमध्ये कुस्तीबाहेक ३१ खेलमा सहभागिता जनाउँदै गण्डकीले अघिल्लो संस्करणमा प्राप्त गरेको सफलता दोहोर्याउने लक्ष्य राखेको छ ।
प्रतियोगिताको औपचारिक शुभारम्भ मङ्सिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा त्यसअघि नै सुरु भइसकेका छन् ।
प्रारम्भिक चरणका खेलमा सहभागी हुन गण्डकीका सात खेलका खेलाडी प्रतियोगितास्थल प्रस्थान गरिसकेको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ ।
परिषद्का सदस्यसचिव श्रीधर शर्माका अनुसार खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल पदाधिकारीसहित प्रदेशबाट करिब ८०० जनाको सहभागिता रहनेछ ।
टेनिस, महिला बास्केटबल, पौडी, पुरुष फुटबल, फुल कन्ट्याक्ट कराते, शारीरिक सुगठन र बक्सिङका खेलाडी पोखराबाट प्रतियोगिताका लागि बिदाइ भइसकेका छन् ।
कुस्ती प्रतियोगिता नवलपरासीमा मात्र सञ्चालन हुने र पर्याप्त खेलाडी उपलब्ध हुन नसकेका कारण गण्डकीले उक्त खेलमा सहभागिता जनाउन नसकेको सदस्यसचिव शर्माले बताए ।
‘प्रतियोगिताका लागि खेलाडी छनोट र बन्द प्रशिक्षणको काम भइरहेको छ । केही खेलका प्रतिस्पर्धा औपचारिक उद्घाटनअघि नै सुरु हुने भएकाले सात खेलका खेलाडी प्रस्थान गरिसकेका छन्,’ उनले भने ।
यस वर्ष दसैँ, तिहारलगायत चाडपर्वका कारण खेलाडीको छनोट र बन्द प्रशिक्षणको तयारी केही प्रभावित भए पनि खेल सङ्घहरूले प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।
केही खेलमा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीको प्रदर्शनका आधारमा टोली निर्माण गरिएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले महिला तथा पुरुष दुवै टोलीका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेर खेलाडी छनोट गरिएको बताए ।
‘राष्ट्रिय खेलकुदका लागि प्रादेशिक छनोट प्रतियोगिता गरेर खेलाडीको प्रदर्शनका आधारमा छनोट गरेका हौँ । छनोट भएका खेलाडीको पोखराबाट औपचारिक बिदाइसमेत गरिसकेका छौँ,’ उनले भने ।





















