images
images
  • इरानी सेना अहिलेसम्मकै बलियो र तीव्र तयारी अवस्थामा रहेको आईआरजीसी प्रमुखको दाबी

    काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रमुख मेजर जनरल अहमद वाहिदीले इरानी सेना शत्रु शक्तिलाई प्रतिकार गर्न पहिलेभन्दा बढी सक्षम र तयारी अवस्थामा रहेको दाबी गरेका छन्। उनले इरानका विरोधीहरूले रणनीतिक रूपमा ठूलो धक्का व्यहोर्नुपरेको पनि बताएका छन्।

    समाचार संस्था आईएसएनएका अनुसार इरानले हालै लडेका युद्धसँग सम्बन्धित दस्तावेजहरूको प्रदर्शनी अवलोकन गर्ने क्रममा वाहिदीले यस्तो बताएका हुन्।

    उनले शत्रु पक्षले गम्भीर रणनीतिक पराजय, ठूलो अवरोध र अन्योलको अवस्था सामना गर्नुपरेको दाबी गरे।

    वाहिदीले पछिल्ला सैन्य सफलताले इरानलाई आफ्नो रक्षा तथा सैन्य क्षमता थप विकास गर्ने प्रयासबाट विमुख गराउन नहुनेमा पनि जोड दिए। ‘आईआरजीसी अहिले मैदानमा अहिलेसम्मकै बलियो र बढी तयारी अवस्थामा छ। हामी शत्रुलाई निकै पछिसम्म धकेल्न तयार छौँ’, उनले भने।

    उनको यो अभिव्यक्ति इरानले आफ्नो सैन्य क्षमता र प्रतिरक्षा तयारीलाई थप सुदृढ बनाउने संकेतका रूपमा आएको छ।

    यसैबीच इरानले अमेरिकाले आफूविरुद्धका घातक सैन्य आक्रमणमा कृत्रिम बुद्धिमता (एआई) प्रविधि प्रयोग गरेको आरोप लगाएको छ। इरानले सैन्य प्रयोजनमा एआईको बढ्दो प्रयोगलाई नियमन तथा निगरानी गर्न संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने मागसमेत गरेको छ।

    संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत घोलामहोसेन दार्जीले मंगलबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा बोल्दै अमेरिकाले इरानविरुद्धको युद्धमा उन्नत एआई प्रणाली प्रयोग गरेको आरोप लगाए।

    उनका अनुसार अमेरिकाले एआई प्रविधिको सहायताबाट आक्रमणका लक्ष्य पहिचान गर्ने, प्राथमिकता निर्धारण गर्ने र आक्रमणका लागि आवश्यक स्थान तथा निर्देशाङ्क उपलब्ध गराउने काम गरेको थियो।

    दार्जीले उन्नत प्रविधि वा निजी कम्पनीहरूको संलग्नतालाई अन्तर्राष्ट्रिय कानुन उल्लंघनको जिम्मेवारीबाट उम्किने बहाना बनाउन नमिल्ने बताए।

    उनले भने, ‘न उन्नत प्रविधि र न त निजी कम्पनीहरूको संलग्नताले नै अमेरिका वा इजरायली शासनलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका आफ्ना दायित्वहरूको गम्भीर उल्लंघनबाट जवाफदेहिताबाट उन्मुक्ति दिन सक्छ।’

    उनले इरानसहित विभिन्न द्वन्द्वमा सैन्य प्रयोजनका लागि एआईको प्रयोग बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। यस्तो प्रविधिको सैन्य प्रयोगलाई व्यवस्थित र नियमन गर्न संयुक्त राष्ट्रसंघको नेतृत्वमा अन्तर्राष्ट्रिय निगरानी संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।

    त्यस्तै आईआरजीसीका उपकमान्डर मुस्तफा इजादीले आफ्नो देशका सशस्त्र सेना कुनै पनि आक्रमणको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

    इरानको सरकारी प्रसारण संस्था आईआरआईबीका अनुसार इजादीले शत्रुपक्षका गतिविधि नरोकिए इरानको जवाफी कारबाही आक्रमणकारीका स्रोतसाधन र पूर्वाधारसम्म सीमित नरहने चेतावनी दिएका छन्।

    ‘यदि शत्रुका गतिविधि जारी रहे भने आक्रमणकारीका स्रोतसाधन र पूर्वाधारलाई लक्षित गर्दै इरानको जवाफ सीमापार क्षेत्रसम्म पुग्नेछ’, उनले भने।

    इरानको प्रतिरक्षा प्रणाली, पूर्वाधार वा आणविक प्रविधि केन्द्रमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको कडा जवाफ दिइने उनले बताए। त्यस्तो अवस्थामा इरानले आक्रमणकारीले पछुताउनुपर्ने खालका प्रतिकारात्मक कदम चाल्ने उनको चेतावनी थियो।

    इजादीले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आईआरजीसीका नौसैनिक र एयरोस्पेस फौजको पूर्ण नियन्त्रण रहेको दाबीसमेत गरे। आवश्यक परे उक्त क्षेत्रमा अहिलेभन्दा अझ शक्तिशाली कदम चाल्न सक्ने क्षमता इरानसँग रहेको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images