काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका हुन् ।
आगामी सिजनको अक्सनका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्, जसमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन् ।
विदेशी खेलाडीको दर्तामा नेपाल र यूएईबाट समान १०–१० खेलाडी छन् । नेपालका १० खेलाडीको नाम दर्ता भए पनि उनीहरूमध्ये कति खेलाडी अन्तिम अक्सन सूचीमा पर्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ ।
दर्ता भएका १ हजार २२० खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलिसकेका, ९९४ जना अन्तर्राष्ट्रिय खेल नखेलेका र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन् । अन्तर्राष्ट्रिय खेल नखेलेका खेलाडीमध्ये ९२५ जना भारतीय छन् । तीमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् ।
अक्सनअघि फ्रेन्चाइज टोलीहरूले १८४ खेलाडीलाई टोलीमा राखिसकेका छन् । अब अक्सनबाट बढीमा ६६ खेलाडी छनोट हुनेछन् । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ ।
बीसीसीआईका अनुसार अब फ्रेन्चाइज टोलीहरूले दर्ता भएका खेलाडीमध्ये आफूले अन्तिम सूचीमा समावेश गर्न चाहेका खेलाडीको नाम सिफारिस गर्नेछन् । त्यसपछि डिसेम्बर ४ मा खेलाडीको अन्तिम सूची सार्वजनिक हुनेछ ।
यसअघि टोलीहरूले खेलाडी रिटेन गर्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र ट्राभिस हेडलाई रिलिज गरेका थिए । दिल्ली क्यापिटल्सले स्टार्कलाई रिलिज गरेको हो । दिल्लीले उनलाई ११ करोड ७५ लाख भारुमा किनेको थियो ।





















