काठमाडौं– नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएका व्यक्तिले तत्काल वकालत गर्न नपाउने व्यवस्था लागू गरेको छ ।
परिषद्ले न्यायाधीश, निजामती कर्मचारी, सुरक्षाकर्मी तथा स्थायी शिक्षकसहित सरकारी सेवामा रहेका व्यक्तिका लागि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ तोकेको हो ।
परिषद्का सचिव श्रीराम खनालद्वारा जारी सूचनाअनुसार मंसिर १ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय कार्यान्वयनका लागि परिषद्ले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार सरकारी सेवामा रहँदा कानुन व्यवसायीको प्रमाणपत्र लिएका व्यक्तिले अवकाशपछि दुई वर्ष पूरा भएपछि मात्र प्रमाणपत्र अद्यावधिक गर्न निवेदन दिन पाउनेछन् ।
यो व्यवस्था संघ, प्रदेश र स्थानीय तहका स्थायी कर्मचारी, न्यायाधीश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा सरकारी पारिश्रमिक लिने स्थायी शिक्षक र अन्य कर्मचारीमा लागू हुनेछ ।
सरकारी सेवाबाट निवृत्त भएपछि तत्कालै आफूले काम गरेको निकाय वा पूर्वसहकर्मीसँग सम्बन्धित मुद्दामा बहस गर्दा स्वार्थको द्वन्द्व हुन सक्ने र न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै यस्तो व्यवस्था माग हुँदै आएको थियो ।
परिषद्ले स्वार्थको द्वन्द्व न्यूनीकरण गर्दै कानुन व्यवसायको निष्पक्षता र विश्वसनीयता कायम गर्ने उद्देश्यले निर्णय गरेको जनाएको छ ।























