images
images
  • रवि वचन दिएर पनि किन गएनन् निशा-मुकुलको विवाहमा ?

    इटहरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकालको आज सम्पन्न विवाह समारोहमा रास्वपा सभापति रवि लामिछाने सहभागी भएनन् ।

    केही दिनअघि सांसद डाँगी र पूर्वमहामन्त्री ढकाल सभापति लामिछानेलाई बिहेको निम्तो दिन उनको निवास बुढानीलकण्ठ पुगेका थिए । त्यसबेला रविले विवाह समारोहमा सहभागी हुने वचन दिएका थिए । तर बिहीबार उनी विवाह समारोहमा सहभागी भएनन् । धेरैले रवि दम्पती नै उक्त विवाह समारोहमा उपस्थित हुने अपेक्षा गरेका थिए ।

    उक्त विवाह समारोहमा रवि सहभागी नहुनुलाई राजनीतिक अर्थका रुपमा लिनुपर्ने विश्लेषकहरु बताउँछन् । पार्टीले कारबाही गरेपछि मुकुलले रवि र सिंगो पार्टीविरुद्ध विभिन्न अभिव्यक्ति दिँदै आएका थिए । जसले गर्दा पनि रविलाई उक्त विवाह समारोहमा सहभागी हुन नैतिक रुपले पनि असहज बनाएको हुन सक्ने उनीहरुको भनाइ छ ।

    निशा र मुकुलको विवाह बिहीबार सामान्य तारिकाले सम्पन्न भएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार झापामा विवाह गरेका हुन् । विराटनगर निवासी मुकुल जन्ती लिएर झापा पुगेका थिए । झापाकी निशासँग उनी परम्परागत विधिअनुसार वैवाहिक जीवनमा बाँधिएका हुन् ।

    विवाह समारोहमा रास्वपाका केही नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । तर पार्टीका केन्द्रीय तहका अधिकांश नेताहरू भने विवाह समारोहमा सहभागी नभएको बताइएको छ ।

    रास्वपाका संस्थापक महामन्त्री रहेका मुकुल र वर्तमान सहमहामन्त्री तथा सांसद निशाबीचको विवाहले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ । निजी जीवनको नयाँ अध्याय सुरु गरेका निशा र मुकुललाई सामाजिक सञ्जालमार्फत शुभकामना दिन समेत सुरु भएको छ ।

    मोरङको विराटनगरस्थित ढकालको घरबाट जन्ती भद्रपुरस्थित डाँगीको घर गएको थियो । जन्तीमा परिवारका सदस्य, आफन्त र निकट साथीहरू सहभागी थिए ।

    राजनीतिक सहयात्रीसमेत रहेका डाँगी र ढकालबीचको सम्बन्ध पार्टीभित्र पनि चर्चाको विषय रहँदै आएको छ । ढकालले नै डाँगीलाई राजनीतिमा प्रवेश गराएका हुन ।

    विवाहमा परिणत भयो लामो प्रेम सम्बन्ध

    निशा र मुकुल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका थिए । जसलाई सत्य सावित गर्दै आज उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।

    को हुन् निशा डाँगी ?

    निशा राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन् ।

    को हुन् मुकुल ढकाल ?

    पेसाले चिकित्सक रहेका मुकुल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री हुन् । पार्टी स्थापनाकालदेखि नै संगठन निर्माण र पार्टीलाई राजनीतिक रूपमा स्थापित गराउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    पार्टीको प्रारम्भिक सांगठनिक संरचना निर्माणमा सक्रिय रहेका ढकाल र निशा दुवै रास्वपाको राजनीतिक यात्रासँग जोडिएका व्यक्ति हुन् । राजनीतिक जीवनमा सहयात्री रहेका उनीहरू अब वैवाहिक जीवनका पनि सहयात्री बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images