images
images
  • कोशी प्रदेश : मुख्यमन्त्री फेर्ने पटक–पटकको प्रयास विफल, कार्कीलाई किन हटाउन चाहन्छन् ओली ?

    काठमाडौं– कुनै बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका नजिक मानिएका कोशीका मुख्यमन्त्री हिक्मत कार्की यसबेला उनैको तारो बनेका छन् । झण्डै एक वर्षदेखि कार्कीलाई हटाएर तिलकुमार म्याङवोलाई मुख्यमन्त्री बनाउने प्रयास विफल हुँदै आएको छ ।

    पछिल्लो अवस्थामा महासचिव वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेल कार्कीको पक्षमा उभिएपछि ओलीका लागि यो कदम फलामको चिउरा चपाउनु सरह भएको छ ।हालै मात्र उनलाई हटाउन गरिएको प्रयास भण्डारी र पोखरेलका कारण विफल भएको छ ।

    कोशी सरकार संविधानको धारा १६८ को ५ बमोजिम गठन भएकोले यसमा पार्टीको कुनै ह्विपसमेत लाग्दैन । यो धारा अनुसार प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यको हैसियतमा मुख्यमन्त्री बनेका थिए, ‘हिक्मत कार्की ।’

    उनी संसदीय दलको नेताको हैसियतमा बनेका होइनन् । त्यसैले ओलीको निर्देशनले ठूलो अर्थ राख्दैन । कोशीका मुख्यमन्त्री कार्कीको पद अविश्वास प्रस्ताव पारित वा राजीनामाभन्दा अर्को बाटोबाट जाने अवस्था देखिँदैन । सरकारले विश्वासको मत लिन चाहेमा र त्यो फेल भएमा स्वतः अर्को निर्वाचन हुन्छ ।

    ओलीको निर्देशनमा उनी पक्षधर प्रदेश सभा सदस्यहरूले हस्ताक्षर संकलनसमेत गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि कार्कीको विकल्प खोज्ने ओली प्रयास असफल भएको देखिन्छ ।किन कार्की हटाउन चाहन्छन् ओली ? मुख्यमन्त्री कार्की कुनै बेला ओलीनिकट मानिने नेता हुन् ।

    तर, गत फागुन २१ को निर्वाचनमा पार्टीको हारपछि उनी पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा लागेका छन् । त्यसैले उनी कार्कीलाई आफ्नो विरोधी कित्तामा गणना गर्दछन् ।

    त्यसैले ओली जसरी पनि कार्कीलाई हटाउन चाहन्छन् । यस कामका लागि उनले पूर्व मुख्यमन्त्री शेरधन राईलाई खटाएका छन् । केही दिन पहिला अध्यक्ष शर्मा ओलीले राजीनामा मागेपछि दबाबमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने तत्काल पद नछाड्ने अडान लिएका छन् ।

    सत्ता साझेदार नेकपाका नेताहरूसँग भएको छलफलमा उनले पार्टीले संस्थागत निर्णय नगरेसम्म राजीनामा नदिने बताएका हुन् । छलफलमा नेकपाका नेताहरूले पनि मुख्यमन्त्री कार्कीलाई तत्काल राजीनामा नदिन र सरकारलाई निरन्तरता दिन सुझाव दिएका छन् ।

    तर, एमालेको आन्तरिक विवादका कारण सरकार परिवर्तन गर्नुपर्ने अवस्था आए आफूहरू त्यसको साक्षी नबस्ने नेकपाले स्पष्ट पारेको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेको आन्तरिक किचलोका कारण सरकार परिवर्तन गर्नुपर्ने भए नेकपाकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताए ।

    नेकपा कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले चुनावको मुखमा सरकार परिवर्तन गर्दा अस्थिरताको सन्देश जाने भएकाले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । ‘सरकार फेर्नै खोजे हामी आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छौं,’ नेम्वाङले भने ।

    एमाले अध्यक्ष ओली भने कार्कीलाई हटाएर सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । तर, संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकार भएकाले कार्कीलाई हटाउन सहज छैन ।

    उनले संसदबाट हालै विश्वासको मतसमेत लिएका छन् । एमाले संस्थापन पक्षले यसअघि कार्कीलाई संसदीय दलको नेताबाट हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो । बहुमत नपुग्ने देखिएपछि उक्त प्रयास अघि बढ्न सकेन ।

    एमाले सचिवालयका अधिकांश नेता पनि कार्कीलाई तत्काल हटाउने पक्षमा नरहेको बताइएको छ । कार्कीले अध्यक्षको निर्देशनभन्दा पार्टीको संस्थागत निर्णयलाई प्राथमिकता दिँदै आएका छन् । एमाले अध्यक्ष ओली, कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायतका नेता भने उनलाई पदबाट हटाउने पक्षमा छन् ।

    मुख्यमन्त्री निकट एक सांसदले जबरजस्ती कार्कीलाई हटाउन खोजिए एमाले संसदीय दलभित्र विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । धारा १६८ को उपधारा ५ अन्तर्गत बन्ने सरकारमा पार्टीको ह्विप लागू नहुने भएकाले कार्की पक्षका १५ सांसदले नेकपालाई समर्थन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

    मंगलबारको छलफलमा नेकपाबाट प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, आङ्बो र नेम्वाङ सहभागी थिए । एमालेबाट मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप र सांसद रेवतीरमण भण्डारी सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images