images
images
  • १७ मंसिरमा गृहमन्त्री सुधन गुरुङको परम्परागत विवाह, अमेरिकाको पीआर त्यागेर फर्किइन् पत्नी प्रेरणा

    ७–८ वर्षअघि नै अदालतमा विवाह, अब गृहजिल्ला गोरखामा दुवै परिवारको उपस्थितिमा सांस्कृतिक विधिअनुसार विवाह गर्दै

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ वैवाहिक जीवनलाई सामाजिक तथा सांस्कृतिक परम्पराअनुसार औपचारिकता दिने तयारीमा जुटेका छन् । करिब ७–८ वर्षअघि नै अदालतमा विवाह गरेका गुरुङले अब नेपाली परम्पराअनुसार विवाह समारोह आयोजना गर्न लागेका हुन् ।

    निकटस्थ स्रोतका अनुसार गुरुङको विवाह आगामी मंसिर १७ गते गर्ने तयारी भइरहेको छ । विवाह उनको गृहजिल्ला गोरखामा दुवैतर्फका परिवार तथा आफन्तको उपस्थितिमा परम्परागत विधिअनुसार हुने बताइएको छ ।

    गुरुङले लामो समयअघि कानुनी विवाह गरे पनि विभिन्न कारणले परम्परागत रूपमा विवाह समारोह आयोजना हुन सकेको थिएन । अहिले भने पारिवारिक जमघटसहित सामाजिक र सांस्कृतिक विधिअनुसार विवाहलाई पूर्णता दिन लागिएको स्रोतको भनाइ छ ।

    को हुन् प्रेर्ना गुरुङ ?

    गृहमन्त्री गुरुङकी पत्नी प्रेर्ना गुरुङ हुन्। उनी केही वर्षदेखि अमेरिकामा बस्दै आएको बताइएको छ । विवाहपछि उनी अमेरिका गएको र केही समयअघि मात्रै अमेरिकाको बसाइँ त्यागेर नेपाल फर्किएको निकटस्थ स्रोतको दाबी छ ।

    अमेरिकाको बसाइँ छाडेर नेपाल फर्किएपछि गुरुङ दम्पतीले पारिवारिक जीवनलाई थप व्यवस्थित बनाउने र परम्परागत विवाह समारोह आयोजना गर्ने तयारी गरेको बताइएको छ ।

    यद्यपि, प्रेर्नाले अमेरिकाको स्थायी आवास अनुमति (पीआर) नै त्यागेर नेपाल फर्केकी हुन् ।

    विवाहमा सभापति रवि लामिछानेलाई निम्तो, प्रधानमन्त्री बालेन्द्र शाहलाई लैजाने तयारी

    रवि लामिछानेलाई विवाहको निम्तो

    गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निमन्त्रणा गरिसकेको बताइएको छ ।

    स्रोतका अनुसार उनले बुधबार लामिछानेलाई निवासमै पुगेर भेटेका थिए। सोही भेटका क्रममा विवाह समारोहमा उपस्थित हुन निमन्त्रणा दिएको बताइएको छ ।

    गुरुङ र लामिछानेबीचको भेटलाई विवाहको निमन्त्रणासँग जोडेर हेरिएको छ । पार्टी सभापतिसमेत रहेका लामिछाने विवाह समारोहमा सहभागी हुने वा नहुने विषयमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

    प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि निम्त्याउने तयारी

    गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि विवाह समारोहमा निमन्त्रणा गर्ने तयारी गरेका छन् ।

    निकटस्थ स्रोतका अनुसार प्रधानमन्त्री शाहको समय मिलाउन प्रयास भइरहेको छ । प्रधानमन्त्रीको कार्यव्यस्ततालाई ध्यानमा राख्दै विवाह समारोहमा सहभागी हुन निमन्त्रणा दिने तयारी गरिएको हो ।

    प्रधानमन्त्री तथा पार्टी सभापतिलाई नै निमन्त्रणा गर्ने तयारीसँगै गृहमन्त्रीको विवाह राजनीतिक वृत्तमा समेत चासोको विषय बनेको छ ।

    गोरखामा पारिवारिक जमघटसहित विवाह

    गुरुङको विवाह समारोह उनको गृहजिल्ला गोरखामा आयोजना गर्ने तयारी छ । दुवै परिवारका सदस्य, आफन्त तथा नजिकका व्यक्तिहरूको उपस्थितिमा नेपाली परम्पराअनुसार विवाह गर्ने योजना रहेको बताइएको छ ।

    विवाहको मंसिर १७ गते तय गरिएको बताइए पनि तयारी र पाहुनाको समय व्यवस्थापनका कारण एक–दुई दिन तलमाथि हुन सक्ने स्रोतहरूले जनाएका छन् ।

    गुरुङको विवाहसम्बन्धी तयारीबारे उनको सचिवालय वा स्वयं गृहमन्त्रीबाट विस्तृत आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

    रास्वपाका नेताहरूको विवाहले चर्चा

    पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको विवाहले पनि चर्चा पाएको छ। बिहीबार पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् ।

    उनीहरूले झापामा विवाह गरेका हुन्। विराटनगर घर भएका मुकुल जन्ती लिएर झापा पुगेर निशासँग विवाह गरेका थिए ।

    त्यस्तै, केही दिनअघि सांसद अप्सना बानुले पनि विवाह गरेको जानकारी उनीनिकट नेताहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

    यसरी रास्वपाका नेताहरूको व्यक्तिगत जीवनसँग जोडिएका विवाह समारोहले पछिल्लो समय राजनीतिक वृत्त र सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images