images
images
  • ईपीजी प्रतिवेदनलाई भारतद्वारा ‘असान्दर्भिक’ घोषणा : के हुन सक्छ नेपालको कूटनीतिक विकल्प र नयाँ द्विपक्षीय समीकरण

    काठमाडौं । नेपाल र भारतबीचका पुराना सन्धि-सम्झौता तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिने उद्देश्यले तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनलाई भारतले औपचारिक रूपमै असान्दर्भिक र विगतको विषय भन्दै पन्छाएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमण समापन भएसँगै नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले आठ वर्षअघि तयार पारिएको उक्त प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेका हुन् ।

    यता नेपाल सरकारले भने संयुक्त दृष्टिपत्र (भिजन डकुमेन्ट) मार्फत पुराना सन्धि पुनरावलोकनको बाटो खुलेको दाबी गरे पनि भारतको पछिल्लो अडानसामु नेपाल सरकार कूटनीतिक रूपमा अडानविहीन देखिएको विश्लेषण गर्न थालिएको छ ।

    भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले ईपीजी प्रतिवेदनलाई ‘विगतको कुरा’ भन्दै दुवै देश पछाडि फर्कनुको सट्टा भविष्यमुखी दृष्टिकोणबाट अगाडि बढिरहेको बताए । उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तामा ईपीजी प्रतिवेदनबारे कुनै छलफल भएन र दुवै पक्ष द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने नयाँ खाकामा केन्द्रित रहेका छन् ।

    यसैगरी, ईपीजीका भारततर्फका संयोजक एवं पूर्व भारतीय नेता भगत सिंह कोश्यारीले पनि प्रतिवेदन तयार भएयता ‘कालिगंगामा धेरै पानी बगिसकेको’ भन्दै दुवै देशका अधिकारीहरूले नयाँ परिस्थितिअनुसार अघि बढ्नुपर्ने संकेत गरेका छन् ।

    प्रतिवेदन तयार भएको लामो समय बितिसक्दा पनि भारतीय प्रधानमन्त्री मोदीले यसलाई औपचारिक रूपमा ग्रहण गर्न समय नदिएपछि यो दस्तावेज अन्योलमा परेको थियो ।

    नेपालको दाबी र कूटनीतिक अन्योल

    भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले द्विपक्षीय समझदारीले सन् १९५० को सन्धिलगायत पुराना सन्धि-सम्झौता पुनरावलोकनका लागि बाटो खोलेको दाबी गरेका गरे । ‘पुराना सन्धिहरूलाई परिमार्जन र पुनरावलोकन गर्न दुवै देश तयार भइसकेपछि ईपीजीभित्रका विषयवस्तुलाई पनि संयुक्त दूरदृष्टि दस्तावेज (विकसित भारत र समुन्नत नेपाल) ले समेटेको छ’, मन्त्री खनालको भनाइ थियो ।

    तर, ईपीजी प्रतिवेदनलाई भारतले औपचारिक रूपमै पन्छाएपछि नेपाल सरकारले स्पष्ट प्रतिवाद गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

    अर्कोतर्फ, ईपीजीका नेपालतर्फका सदस्य नीलाम्बर आचार्यले भने दुवै देशको सहमतिमा गठित विज्ञ समूहले तयार पारेको दस्तावेज अझै पनि उत्तिकै सान्दर्भिक रहेको र भारतीय पक्षले ग्रहण नगर्दैमा यसको औचित्य समाप्त नहुने स्पष्ट तर्क प्रस्तुत गरेका छन् ।

    ईपीजी प्रतिवेदनको इतिहास र १९५० को सन्धि

    सन् २०१४ मा काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगको तेस्रो बैठकको निर्णयअनुसार सन् २०१६ मा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा आठ सदस्यीय ईपीजी गठन गरिएको थियो । नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाको संयोजकत्वमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सदस्य थिए । भारतका तर्फबाट भगत सिंह कोश्यारीको संयोजकत्वमा जयन्त प्रसाद, प्रा. महेन्द्र पी. लामा र बीसी उप्रेती सदस्य रहेका थिए ।

    सन् २०१६ देखि २०१८ सम्म नौवटा बैठक गरी तयार पारिएको संयुक्त प्रतिवेदनमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन, व्यापार, पारवहन र जलस्रोत जस्ता महत्त्वपूर्ण विषयमा समयानुकूल परिमार्जनका सुझावहरू समेटिएका थिए ।

    विशेषगरी सन् १९५० को सन्धिका धारा ५ (सैन्य सामग्री आपूर्ति), तथा धारा ६ र ७ (नागरिक सुविधा) मा रहेका प्रावधानहरूलाई असमान भन्दै नेपालमा लामो समयदेखि संशोधनको माग उठ्दै आएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा केही भौतिक तथा आर्थिक क्षेत्रमा सहमति भएका छन् । परराष्ट्रमन्त्री खनालका अनुसार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई प्रवेशमार्ग, तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका दीनदयाल र पारादीप बन्दरगाहको प्रयोग, तथा जनकपुर-अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालन जस्ता विषयमा महत्त्वपूर्ण सहमति भएको छ ।

    यद्यपि, नेपाल-भारत सम्बन्धका संवेदनशील र रणनीतिक विषयहरू जस्तै कालापानी-लिपुलेक सीमा विवाद र भारतीय सेनामा गोर्खा भर्तीसँग जोडिएको अग्निपथ योजनाका सम्बन्धमा दुई प्रधानमन्त्रीबीच कुनै कुराकानी नभएको भारतीय विदेश सचिव मिस्रीले पुष्टि गरेका छन् ।

    सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिइएको भए पनि विगत १२ वर्षदेखि यो संयन्त्रको बैठक बस्न नसकेकाले सीमासम्बन्धी नेपालका प्रमुख एजेन्डाहरू ओझेलमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images