काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ ।
नेपाली संस्कृति, परम्परा र आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको यो गीत आउँदै गरेको तीज पर्वलाई लक्षित गरीबजारमा ल्याइएको हो ।
विगत १२ वर्षदेखि सिड्नीको एक पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की तीन सन्तानकी आमा तथा व्यवसायीसमेत हुन् । प्रवासको व्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको लगावलाई सङ्गीतमार्फत जीवन्त राख्न उनले पहिलोपटक तीज गीत सिर्जना गरेकी हुन् ।
‘ए मैना सुनन’ बोलको गीतमा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको सङ्गीत छ । गीतलाई अल्मोडा रानाउप्रेतीले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका छन् ।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडिओमा मोडल बिना राउतको शीर्ष अभिनय देख्न सकिन्छ । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडिओमा देवदोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन र प्रबिन भट्टको सम्पादन तथा कलर संयोजन छ ।
भिडिओमा तीजको सांस्कृतिक पक्षका साथै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । तीजका अवसरमा नेपाली महिलाहरूले माइती, परिवार र आफ्ना प्रियजनसँग साट्ने आत्मीय भावलाई गीतमा समेटिएको निर्माण पक्षले जनाएको छ ।
नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको यो भिडियो ‘नेपाल क्युब’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विदेशमा रहेर पनि आफ्नो माटो, मौलिकता र पारिवारिक सम्बन्धसँग जोडिरहने प्रवासिएका नेपालीको भावनालाई गीतमार्फत दर्शाउने प्रयास गरिएको गीतकार कार्कीले बताएकी छिन् ।
हेर्नुहोस् भिडिओ–


विश्व खबर 



















