काठमाडौं– नाइजेरियामा पहिलो इबोला सङ्क्रमण देखिएको छ । युगान्डाबाट नाइजेरियाको राजधानी अबुजामा पुगेकी एक महिलामा सो सङ्क्रमण देखिएको हो ।
अहिले पश्चिम अफ्रिकामा इबोला धेरै नै फैलिएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा यो धेरै फैलिएको छ भने केन्यामा केही केसहरू देखापरेका छन् ।
नाइजेरियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ती महिलामा ७ अक्टोबरको दिनदेखि लक्षण देखिएको थियो । इबोला पक्का हुनुअघि अक्टोबर ११ का दिन उनी त्यहाँको निजी अस्पतालमा भर्ना भएकी थिइन् । नाइजेरियाको स्वास्थ्यमन्त्रीले हरेक व्यक्तिको निगरानी राख्न सरकार सफल भएको समेत बताए ।
केन्यामा मङ्गलबार मात्र नवौं केस फेला परेको छ । केन्याको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ती नवौं व्यक्ति अहिले क्वारेन्टाइनमा छन् ।
उनी केन्याको पहिलो इबोला सङ्क्रमितका नजिकका आफन्त हुन् । कङ्गोबाट युगान्डा हुँदै नैरोबी पुगेका उनको अक्टोबर ५ का दिन निधन भएको हो । केन्यामा फेला परेका ९ सङ्क्रमित एकै क्लस्टरका भएका कारण अन्यमा नसरेको अनुमान केन्या सरकारको छ ।
अहिले त्यहाँ पनि व्यापक ट्रेसिङ र क्वारेन्टाइन राख्ने काम भइरहेको छ । क्वारेन्टाइनमा राखिएको २१ दिनमा खुला हुनसक्ने र समुदायले जोखिमरहित महसुस गर्दै स्वागत गर्नसक्ने केन्याको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
मेयता प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ९ हजार केस देखापरेको छ । यसमा ४ हजार जनाको ज्यान गएको छ । ८ प्रान्तमा यो सङ्क्रमण फैलिएको छ । यसले त्यहाँको जनजीवनलाई अझ अशान्त पारेको छ । अहिले पछिल्लो समय फैलिएको स्थान सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर) को सीमामा हो । यसकारण त्यहाँ पनि फैलिएको आशङ्का छ ।
अहिले डीआरसीमा फैलिएको यो सङ्क्रमण इतिहासकै ठुलो हो । यसभन्दा अघि सन् २०१४ देखि २०१६ को बीचमा हो । अहिले फैलिएको बुनडिबिगो इबोला भाइरस हो भने त्यस समयमा फैलिएको जैरे इबोला भाइरस हो ।
सन् २०१४ को फैलावट भने अहिलेको भन्दा धेरै अर्थमा फरक हो । त्यस समयमा ११ हजार ३२५ जनाको ज्यान गएको थियो ।
यसरी गएको थियो एक दशकअघि धेरैको ज्यान

सन् २०१३ डिसेम्बरको सुरुमा नै गुयनाको एक गाउँमा रहस्यमय किसिमले बिरामी भए । सन् २०२४ मार्च २३ मा त्यो इबोला भएको थाहा हुनु अगावै ४९ केस देखिएका थिए भने २९ जनाको ज्यान गएको थियो ।
यसबीचमा सङ्क्रमण लाइबेरिया र सियरा लियोनमा पुगिसकेको थियो भने केही केसहरू नाइजेरिया, माली, अमेरिका र युरोपमा समेत पुगेको थियो ।
सन् २०१४ अगस्ट ८ मा विश्व स्वास्थ्य सङ्गठनले इबोला सङ्क्रमण फैलिएकाले संसार नै उच्च सावधानी अपनाउन आवश्यक रहेको घोषणा गरेको थियो । दुई वर्ष फैलिएको यो सङ्क्रमणबाट संसार मुक्त भएको घोषणा भएको हो ।
सन् २०१६ को जुनमा विश्व इबोलाको भयावह अवस्थाबाट मुक्त भएको घोषणा भएको हो ।
इबोला आउटब्रेकको असर मलेरिया, एचआईभी र टीबीको उपचारमा समेत देखियो । यस उपचारमा अवरोध भएकै कारण १० हजार ६०० जनाको ज्यान गएको थियो ।
त्यस समयमा इबोलाको कारण राज्यको स्वास्थ्य संयन्त्रलाई समेत असर गरेको थियो । यो असरले अन्य रोगका बिरामी आवश्यक उपचार पाउन असमर्थ रहे । यसै अन्य रोगका कारण पनि इबोला प्रभावित देशमा धेरैको ज्यान गयो ।
ऋहिले १० वर्षअघिको भन्दा समय फेरिएको छ । अफ्रिकामा नै धेरै कुरा बदलिएको छ । अन्धविश्वास भन्दा बढी चिकित्सकको सल्लाहमा चल्ने प्रचलन बढेको छ ।
समयमै रोगको पहिचान गर्ने प्रचलन गर्न स्वास्थ्यकर्मी र सरकारी निकाय संवेदनशील छन् ।
यो रोग धेरै किसिमबाट सर्नसक्छ । रगत, स्तनपान, पसिना, वीर्य, दिसा, पिसाब र थुकबाट यो रोग सर्ने पाइएको छ । सङ्क्रमित जनवारको मासु खाएमा पनि यो भाइरस सर्नसक्छ ।
सबैभन्दा सुरक्षित एसिया
इबोला भाइरसको असर हेर्ने हो भने एसिया महादेश सुरक्षित मानिएको छ । अन्य महादेशमा यसको असर देखिए पनि एसियामा यसको असर देखिएको छैन ।
दक्षिण पूर्वी एसियामा भने रेस्न इबोला भाइरस पाइएको छ । यो भाइरस सुँगुरमा मात्र पाइन्छ ।
इबोलाको उपचार

यसका लागि इन्माजारेब र इबाङ्गा प्रायः देशमा प्रयोग हुने औषधि हुन् । तर यो नै पूर्ण भने होइन । इबोला भएपछि शरीरका धेरै भागमा असर गर्ने हुनाले ती हरेक परीक्षण गरेर उपचार गर्नु उपयुक्त भएको चिकित्सकीय ठहर छ ।
यो भाइरस पत्ता लागेको सन् १९७६ मा हो । सन् २०१४ देखि २०१६ सम्मका डरलाग्दा अवस्था नआएसम्म धेरैको ध्यान गएको थिएन । त्यसपछि सुरु भएको अध्ययनले मूर्त रूप लिइसकेको छ ।
इर्बेभो अहिले मान्यता प्राप्त एउटा भ्याक्सिन हो । यसले जैरे इबोला भाइरसका लागि काम गर्छ । दश वर्षअघि यसैका कारण धरैको ज्यान गएको थियो ।
अहिले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट फैलन सुरु भएको बुनिडबग्यो भाइरस हो । यसको भने मान्यता प्राप्त कुनै भ्याक्सिन छैन ।
अहिले अन्य धेरै भ्याक्सिनका लागि अफ्रिकाका धेरै देशमा परीक्षण भइरहेको छ । सायद सन् २०२७ मा इबोलाको भ्याक्सिन सर्वत्र पाइने अनुमान छ । साथै सदाका लागि अफ्रिकाले मुक्ति पाउने आशा गरिएको छ । अहिले नै पनि एक दशक अघिको जस्तो भयावह अवस्था नभएको स्वास्थ्य क्षेत्रमा चासो राख्नेहरू बताउँछन् ।
– अलजजिरा, क्यानडा डट सीए, नेशनल लाइब्रेरी अफ मेडिसिनलगायत सहयोग


मनोज घिमिरे 



















