काठमाडौं-नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता नेपालमा सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगितामा आइसिसी विश्वकप लिग– २ का अन्तिम चार टोली तथा क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। यससँगै नेपाललाई लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा पुग्ने अवसर प्राप्त हुनेछ।
नेपालमा छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बिचको प्रस्तावित क्रिकेट शृंखलाको पूर्वनिर्धारित तालिका प्रभावित भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) र क्यानबिचको आपसी समन्वय तथा सहमतिमा उक्त शृंखलाको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्।





















