images
images
  • बङ्गलादेशी क्रिकेटर मोहम्मद सैफउद्दिन पोखरा एभेन्जर्समा अनुबन्धित

    काठमाडौं- बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिन नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्समा अनुबन्धित भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

    “एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।

    सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । उनले सन् २०१७ मा बङ्लादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए ।

    सैफउद्दिनले बङ्लादेशका लागि ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् । त्यस्तै उनले ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

    सन् २०१६ को आईसीसी यू–१९ विश्वकपमा बङ्लादेशका लागि प्रभावशाली प्रदर्शन गरेका सैफउद्दिनले प्रतियोगितामा १३ विकेट लिएका थिए । उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बङ्लादेशको प्रतिनिधित्व गरेका थिए ।

    सैफउद्दिनले विभिन्न पाँच वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बीपीएल) खेलिसकेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हो ।

    पोखराले सैफउद्दिनसहित बङ्लादेशकै शाकिब अल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

    एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images