काठमाडौं– भारतमा कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलनमा उपस्थित भएपछि नेहा बोराको चर्चा चुलिएको छ । भारतमा नरेन्द्र मोदी राज सुरु भएको १२ वर्ष हुन लागेको छ । यस १२ वर्षमा उनले सबैभन्दा धेरै तनावको अवस्था अहिले सामना गरिरहेका छन् ।
नेहाको तेजस्वी व्यक्तित्व मात्र होइन, आन्दोलनको रापले पनि उनलाई तनाव दिएको छ । यत्ति मात्र होइन, उनको व्यक्तित्वकै कारण दक्षिण एसियामा फेरि नयाँ उभार आउने आशा वामपन्थीहरूमा पलाएको छ ।

अहिले संसारमा युवा आन्दोलन भएका दुई देश भारत र फ्रान्स एकदमै फरक हुन् । यी दुई देशको राजनीतिक अवस्था पनि फरक छ । दुई देशमा भएको समानता के हो भने यी दुवै देशमा आन्दोलन चलिरहेको समयमा वामपन्थी शक्तिले आफ्नो पूर्ववत् शक्ति विस्तार गरेको प्रस्ट भएको छ ।
फ्रान्समा जारी आन्दोलनको मूल कारण महँगी, जीवनयापनमा आएको समस्या तथा शैक्षिक क्षेत्रमा रहेको विकृतिका विषय छन् । यसै समयमा फ्रान्सेली कम्युनिस्ट पार्टीका नेता फाबियन रसेलले आफ्नो पार्टीको भावी योजना प्रस्ट पारे । युवाहरूको आन्दोलन चलिरहेकै समयमा उनले पत्रकार सम्मेलनको आयोजना गरेर युवा र विद्यार्थीका लागि भावी योजना प्रस्तुत गरेका हुन् ।

आगामी निर्वाचनका लागि राष्ट्रपतिको उम्मेदवार घोषित रसेल १५ देखि १७ वर्ष उमेर समूहका ६६ प्रतिशत आफ्नो भविष्यप्रति चिन्तित रहेको बताउँछन् । उनले सन् २०२७ देखि २०३२ सम्मका लागि नयाँ शैक्षिक योजना नै अघि ल्याएका छन् ।
उनले विद्यालयको भौतिक संरचनामा सुधारको आवाज पनि उठाएका छन् ।
दक्षिण एसियाली देशको झैँ समस्या फ्रान्सेली कम्युनिस्ट राजनीतिमा पनि छ । तथापि वामपन्थीहरू विभाजन हुने क्रम अझै जारी छ । सन् २०२७ अप्रिल १८ मा फ्रान्समा निर्वाचन हुँदैछ । यस निर्वाचनमा रसेलले सुधारवादी कार्यक्रम र योजना ल्याइरहँदा प्रो-रसियन भन्ने गरिएका वामपन्थी नेता जियान लुई मेलेचेनको प्रभाव बढिरहेको छ ।

पछिल्लो सर्वेक्षणमा अति दक्षिणपन्थी उम्मेदवार ले पेनको पक्षमा ३४ देखि ३८ प्रतिशत मत रहेको देखिएको छ । फ्रान्समा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाएमा अर्को चरणमा मतदान हुने व्यवस्था छ ।
ले पेनभन्दा पछि दोस्रो स्थानमा मेलेचेन रहने अनुमान गरिएको छ । पूर्वप्रधानमन्त्री मध्यम दक्षिण पक्षीय एडुवार्ड फिलिप र मध्यम वामपन्थी राफेल ग्ल्क्सम्यान पनि प्रतिस्पर्धामा रहन सक्नेछन् ।
फ्रान्सको अवस्थाकै बारेमा धेरैले चासो दिने गरेका छन् । फ्रान्सको राजनीतिलाई नजिकबाट हेर्नेहरू मेलेचेनको पक्षमा वातावरण अघि बढिरहेको दाबी पनि गर्ने गरेका छन् । फ्रान्सेली राजनीतिका विज्ञ थियोडर अबिटोल ३५ वर्षमुनिका युवाहरू मेलेचेनको पक्षमा रहेको बताउँछन् ।
विगतमा प्रगति गर्न नसकेका ग्रामीण भेगका बस्तीहरूमा अहिले मेलेचेनको दलको पक्षमा उभिएका छन् । त्यहाँ भएका स्थानीय निर्वाचनले पनि यसै सङ्केत गरेका छन् ।
सन् १९८३ मा पछि रायबक्समा पहिलो पटक वामपन्थीहरूले जित हात पारेका छन् । यो फ्रान्सको सहरमध्ये सबैभन्दा गरिब मानिन्छ ।
फ्रान्सको राजनीति कुन पक्षमा जाने या कुन परिणाम आउने भन्ने अनिश्चित नै छ । तर एउटा के साँचो हो भने इमानुएल म्याक्रोनको नीति असफल साबित भइसकेको छ । यसलाई पुँजीवादको असफलताको रूपमा पनि व्याख्या गरिएको छ ।
रसेल होस् या मेलेचेन दुवै फ्रान्सलाई युरोपियन युनियनमा निर्भर भएको हेर्न चाहँदैनन् । दुवै जनाले स्व–उत्पादनलाई प्राथमिकता दिएका छन् । साथै रसेलले शिक्षामा व्यापक सुधारको घोषणा गरेका छन् ।
संसारमा अहिले अति दक्षिणपन्थी र वामपन्थी दुवै प्रभाव बढ्दै गएको साँचो हो । युनिभर्सिटी अफ आर्मस्डमका पिटर टनबर्ग र नेदरल्यान्ड्सको फ्री युनिभर्सिटीका जुलियाना चियाउरीले गरेको अध्ययनले एउटै कुरा प्रस्ट पारेको छ । अति दक्षिणपन्थी पपुलिस्टको शक्ति नै सामाजिक सञ्जाल हो ।
मध्यमार्गी र वामपन्थीहरूको आधार भनेको उनीहरूले गर्ने काम नै भएको तथा ल्याटिन अमेरिकी देशमा भने अझै वामपन्थी प्रभाव लामो समय रहन सक्ने उनीहरूको मत छ । अहिले ल्याटिन अमेरिकी देश पपुलिस्ट सत्ताभन्दा पनि बढी आफ्नै ढङ्गको प्रजातन्त्रको अभ्यास गरेर अघि बढिरहेको देशको रूपमा रहेको छ ।
राजनीतिक विश्लेषकहरूकै अनुसार पुरानो लेफ्ट र नयाँ लेफ्टमा केही फरक छ । दुवैमा समानता के हो भने दक्षिण अमेरिकामा यसरी वामपन्थीहरूको प्रभाव बढ्नमा मजदुरहरूले दिएको साथ नै हो । ब्राजिल, चिली, पेरु, भेनेजुयला र मेक्सिको सबै देशमा मजदुरहरूको मत प्रायः वामपन्थीको पक्षमा छ ।
साथै आदिवासीको साथ पनि वामपन्थीलाई छ । यी सबै देशमा आदिवासीलाई दिलाएको पहिचानको विषयले वामपन्थी प्रभाव बढेको मत धेरै विश्लेषकहरूको छ ।
जहाँसम्म भारतको प्रसङ्ग छ, लगातार वामपन्थी प्रभाव विगत दशकमा गुमेको विषयमा कुनै शङ्का छैन । पश्चिम बङ्गाल र केरेलालगायत राज्यमा पनि पुरानो साख गिराएको वामपन्थीका लागि नेहा बोरा एउटा तेजस्वी व्यक्तित्व नयाँ आशा बनेर उदाउनु स्वाभाविक हो ।
अहिले सडकमा आन्दोलन चलिरहँदा पनि प्रधानमन्त्री मोदीको विरुद्धमा साझा नेता चयन गर्ने कुरामा विपक्षीहरू असफल छन् । यस समयमा कांग्रेसले त बारम्बार नेहाबाट प्रभावित भएको बताइसकेको छ । अहिले नेहाको व्यक्तित्व नै सबै विपक्षीका लागि नयाँ आशा बनेर उदाएको छ ।

साथमा फ्रान्सका मेलेचेन र भारतमा नेहाको साथमा पोर्चुगलका गोन्कालो एस्टेभेस नयाँ वाम नेताको रूपमा स्थापित हुन सक्ने व्यक्तित्वका रूपमा परिचित छन् । पोर्चुगल कम्युनिस्ट पार्टीका युवा नेता उनी हालै प्रजातान्त्रिक युवाको विश्वव्यापी महासङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।
भारत र फ्रान्सको आन्दोलनले संसारमा वामपन्थीका लागि नयाँ बाटो तय गरेको छ । साथै दक्षिण अमेरिकामा मजदुर र आदिवासीले दिएको साथ त अनुकरणीय छँदैछ ।
-द गार्जियन, अलजजिरा, पोलिटिको, मोर्डन डिप्लोमेसीलगायतको सहयोगमा


मनोज घिमिरे 



















