images
images
  • जोर्डनको चर्चमा अन्त्येष्टि हुँदै गोली चल्यो: ७ जनाको मृत्यु, ३४ घाइते

    काठमाडौं- जोर्डनको काराक प्रान्तको हमूदस्थित एउटा चर्चमा शुक्रबार बन्दुकधारीहरूले चलाएको गोलीबाट ७ जनाको मृत्यु भएको छ भने कम्तीमा ३४ जना घाइते भएका छन् ।

    स्थानीय अधिकारीहरूका अनुसार चर्चमा अन्त्येष्टि समारोह चलिरहेको बेला कारमा आएका अज्ञात आक्रमणकारीहरू गोली चलाएर फरार भएका छन् । यो आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

    गृहमन्त्री माजेन अल(फरायाले आक्रमणकारीहरूलाई ‘चरमपन्थीहरूको एक गिरोह’ भनेका छन् र अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्न प्रयास गरिरहेको बताएका छन् ।

    जोर्डनका राजा अब्दुल्ला द्वितीयले अधिकारीहरूले ‘काराकलाई लक्षित गरेर गरिएको यस आतंकवादी घटनाविरुद्ध कडा कारबाही गर्ने’ बताएका छन् ।

    बीबीसीका अनुसार सीसीटीभी फुटेजमा तीन जना बन्दुकधारी सडकबाट चर्चतर्फ जाँदै गरेको देखिएको छ । जसमा दुई जना आक्रमणकारी चर्च परिसरको प्रवेशद्वारतर्फ गएको, त्यसपछि केही क्षणका लागि पछाडि हटेर तेस्रो व्यक्तिसँगै फेरि फर्केको देख्न सकिन्छ । तिनीहरु सबैसँग बन्दुक रहेको देखिन्छ ।

    आक्रमणपछिको छुट्टाछुट्टै फुटेजमा भागदौडको वातावरणबीच भुर्इंमा धेरै मृत र घाइतेहरू छरिएका देखिन्छन् ।

    प्रत्यक्षदर्शीहरूका अुसार चर्चभित्र भागदौडको स्थिति सिर्जना भएको र मानिसहरू झ्यालबाट टाढा भाग्दै बेन्चमुनि लुक्ने प्रयास गरिरहेका थिए ।

    चर्चभित्रै रहेको खालिद अल(मदानतले गोलीबारी करिब १५ मिनेटसम्म चलेको र मानिसहरू ज्यान बचाउन भाग्दै गरेको बीबीसीलाई बताए ।

    उनले भने, ‘बाँच्नका लागि धकेलाधकेल पनि भयो । केही मानिसहरू लुकिरहेका थिए, केहीले मृतकहरूलाई काखमा बोकेका थिए, केहीले आफ्ना छोराहरूलाई अङ्कमाल गरेका थिए, केहीले आफ्ना नानीहरूलाई समातेर भागिरहेका थिए भने अन्यले चर्चमा साथमै रहेका आफ्ना साथीहरूलाई आड दिएका थिए ।’

    उनले बन्दुकधारीहरू चर्चको ढोकाबाट बाहिर निस्केर एउटा पिकअप ट्रकमा चढेर भागेको बताए । उनीहरू भाग्ने क्रममा पनि गोली चलाइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images