काठमाडौं– इरानले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउन र अमेरिकासँग आणविक कार्यक्रमसम्बन्धी वार्ता पुनः सुरु गर्न दुईदिने योजना सार्वजनिक गरेको छ । यसअघि सात दिनभित्र कार्यान्वयन गर्ने भनिएको योजनालाई इरानले छोट्याएको हो ।
समाचार एजेन्सी एपीका अनुसार इरानले अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने र आणविक कार्यक्रमसम्बन्धी वार्ता सुरु गर्ने योजना अघि सारेको थियो ।
क्षेत्रीय तनाव फेरि बढ्न सक्ने आशंकाका बीच इरानले यस्तो प्रस्ताव सार्वजनिक गरेको थियो । यद्यपि इरानका विदेशमन्त्रीले आइतबार अमेरिकाले अन्य विकल्पभन्दा कूटनीतिक बाटो रोज्ने आशा व्यक्त गरेका थिए ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले समयसीमा छोट्याइए पनि उक्त योजना नै मध्यस्थकर्तामार्फत वासिङ्टनसँग भइरहेको वार्ताको आधार रहेको बताएका छन् ।
उनले यसलाई इरानको सदाशयपूर्ण प्रयासको अर्को प्रमाण भएको दाबी गरेका छन् । तर बघाईले इरानले आफ्ना मागमा कुनै परिवर्तन गरेको वा अमेरिकाले ती प्रस्ताव स्वीकार गरेको संकेत दिएका छैनन् ।
यसअघि इरानले अमेरिकाले आफ्ना सातवटा सर्त पूरा गरे एक साताभित्र योजना कार्यान्वयन गर्न सकिने बताएको थियो । ती सर्तमध्ये इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने माग पनि समावेश छ ।
इरानको पछिल्लो प्रस्तावअनुसार होर्मुज पुनः सञ्चालनमा आएपछि त्यहाँबाट आवतजावत गर्ने जहाजले इरान र ओमानबीच सहमति भएको मार्ग प्रयोग गर्नुपर्नेछ । साथै जहाजको आवागमन इरानको निगरानीमा हुनेछ ।
इरानी अधिकारीहरूले अमेरिकाले इरानी तेल बिक्रीमा लगाएका प्रतिबन्ध हटाउनुपर्ने र लेबनानलाई समेत समेट्ने गरी युद्धविराममा सहमति जनाउनुपर्ने माग पनि राख्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग कूटनीतिक वार्ताको सम्भावना अघि बढाउने र अर्कोतर्फ इरानमाथि ठूलो स्तरको बमबारी गर्ने चेतावनी दिने अभिव्यक्ति दिँदै आएका छन् । उनका सार्वजनिक अभिव्यक्तिमा वार्ता र सैन्य दबाब दुवै विकल्प देखिएका छन् ।






















