images
images
  • भारतको मध्यप्रदेशमा एकै परिवारका दुई बालबालिकासहित चार जनाको शव फेला, रेलवे ट्र्याकमा छोराद्वारा आत्महत्या

    काठमाडौं- भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालस्थित मालीखेडी क्षेत्रमा सोमबार एकै परिवारका चार सदस्यको हत्या भएको घटना सार्वजनिक भएको छ । मृतकमा ५० वर्षीया महिला, उनकी बुहारी र दुई बालबालिका रहेका छन् । बालबालिकाको उमेर १० वर्ष र ६ वर्ष रहेको छ ।

    त्यस्तै परिवारका छोरा नरेन्द्रको शव रेलवे ट्र्याकमा फेला परेको छ। प्रहरीले प्रारम्भिक रूपमा नरेन्द्रले पहिले परिवारका चारै सदस्यको हत्या गरेर त्यसपछि रेलअगाडि हाम फाली आत्महत्या गरेको आशंका गरेको छ।

    भोपालको जोन- ४ का डीसीपी आदर्शकान्त शुक्लाले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार सोमबार बिहान रेलवे ट्र्याकनजिक एउटा घटना भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्दा एउटै घरका चार सदस्य र अर्का एक व्यक्तिको मृत्यु भएको पाइएको थियो। ती अर्का व्यक्तिको मृत्यु रेलले काटिएर भएको थियो।

    बीबीसी हिन्दीका अनुसार घरभित्र फेला परेका चार जनाको शवको प्रारम्भिक जाँच गर्दा धारिलो हतियारले घाँटी काटिएको जस्तो देखिएको डीसीपी शुक्लाले बताएका छन्।

    मृतकको पहिचान नरेन्द्रकी आमा सरस्वती साहु, पत्नी सोमलता साहु, छोरी कृति साहु र छोरा खुसी साहुका रूपमा भएको छ। चारै जनाको शव घरभित्र एउटै ओछ्यानमा फेला परेको थियो।

    प्रहरीका अनुसार मृतक सबैको घाँटीमा धारिलो हतियारले काटिएका चोटका निशान छन्। उनीहरूको टाउको र घाँटीमा समेत चोटपटक देखिएको छ।

    भोपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा परिवारको एकमात्र कमाउने व्यक्ति नरेन्द्र ऋणको दबाब र मानसिक तनावमा रहेको खुलेको छ।

    परिवारको एउटा सानो रेस्टुरेन्ट थियो, जुन केही समयअघि बन्द भएको थियो। नरेन्द्र पछिल्लो १५ देखि २० दिनयता कुनै काम नगरी बसेको बताइएको छ।

    डीसीपी आदर्शकान्त शुक्लाका अनुसार परिवारको आर्थिक समस्यासँग यो घटनाको कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images