काठमाडौं – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागेको छ ।
प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जिल्ला समन्वय समिति मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने बताए। मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा भने प्रदेश सरकारले लगानी गर्ने उनको भनाइ थियो ।
टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिए ।
उनले सङ्घीय तथा प्रदेश सरकारले विनियोजन गरेका विकास योजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै ढिलासुस्ती नगरी निर्धारित समयमै निर्माणका काम सम्पन्न गर्न आग्रह गरे ।
मुख्यमन्त्री थापाले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए। उनका अनुसार बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइनेछ ।
विकास योजनाको गुणस्तर र प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।






















