काठमाडौं – दाङको लमही नगरपालिका–५ कोलहीकी वसन्ता गिरीलाई यतिबेला तिहारका लागि सिन्कामारी रोटी बनाउन र बिक्री गर्न भ्याइनभ्याइ छ । उनले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरी सिन्कामारी रोटी उत्पादन तथा बिक्री गर्दै आएको छ ।
‘गुराँस सिन्कामारी उद्योग’ सञ्चालन गर्दै आएकी गिरीले उत्पादन गरेको सिन्कामारी लमही बजारसँगै आसपासका गाउँमा पनि बिक्री हुने गरेको छ । अधिकांश ग्राहक घरमै आएर खरिद गर्ने भएकाले बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उनि बताउनुहुन्छ । तिहार र विवाहको सिजनमा यसको माग अझ बढी हुने गरेको छ ।
सिन्कामारी उत्पादनमा गिरीलाई उनका श्रीमान्ले पनि सहयोग गर्दै आएका छन् । फुर्सदको समय सदुपयोग गर्दै सुरु गरेको व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उ यसलाई निरन्तरता दिइरहेको छ । गिरीका अनुसार तिहारको समयमा मात्रै डेढदेखि दुई लाख रुपैयाँसम्मको सिन्कामारी बिक्री हुने गरेको छ । पछिल्लो समय दैनिक २० हजार रुपैयाँभन्दा बढीको बिक्री भइरहेको उनले बताइन् ।
“फुर्सदको समय त्यसै बिताउनुभन्दा यो काम गर्दा आयआर्जन पनि भएको छ,” उनले भनिन्, “सीप भएका महिलाले आफ्नो खाली समयको सदुपयोग गरेर घरमै बसेर आम्दानी गर्न सक्छन् ।”
चामलको पिठो पकाएर मेसिनमा पेलेपछि सिन्कामारी रोटी तयार हुन्छ । उत्पादन प्रक्रिया केही झन्झटिलो भए पनि आकर्षक देखिने, स्वादिलो र तयार खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वमा यसको माग बढ्ने गरेको गिरीको अनुभव छ । उनले मागअनुसार उत्पादन गर्नुका साथै नियमित बिक्रीका लागि केही परिमाणमा स्टकसमेत राख्ने गरेको छ ।
गिरीका अनुसार सिन्कामारी रोटी एक दर्जनको थोक मूल्य २५० रुपैयाँ र खुद्रा मूल्य ३०० रुपैयाँ राखिएको छ । तिहारको समयमा माग बढ्ने भएकाले बिक्री गर्न सहज हुने गरेको उनि बताउछिन् ।
पछिल्लो समय दाङमा पनि तिहारलाई लक्षित गरी सिन्कामारी उत्पादन तथा बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ । मौसमी मागलाई अवसरका रूपमा उपयोग गर्दै महिलाले सञ्चालन गरेका यस्ता घरेलु व्यवसायले परिवारको आम्दानी बढाउन र स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गर्न सहयोग पुर्याउँदै आएका छन् ।






















