images
images
  • पोखरामा भोलिदेखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप, ४३ खेलाडी सहभागी हुने

    काठमाडौं – पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरका ४३ खेलाडी सहभागी हुनेछन् ।

    नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका बालक तथा बालिका खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहमा एकल तथा युगल विधाका खेल सञ्चालन हुनेछन् ।

    प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडी पहिचान गर्ने, टेनिस खेलको विकास गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए ।

    गण्डकी प्रदेश टेनिस सङ्घले स्थापनाकालदेखि नै जुनियर खेलाडीको प्रशिक्षण र उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सङ्घका अनुसार पछिल्लो तीन वर्षमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् । केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् ।

    सङ्घले जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा पनि प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।

    पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न प्रतियोगिताले सहयोग पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष कायस्थको भनाइ छ । प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images