images
images
  • एनपीएल–३ः आज काठमाडौं–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

    पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । प्रतियोगितामा चितवन राइनोज अहिलेसम्म अपराजित छ । टोलीले पहिलो खेलमा जित निकालेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो । यता सुदूरपश्चिम रोयल्सले खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ ।

    चितवन राइनोजको खेल हेर्न चितवनबाट समर्थकहरू काठमाडौं आउन थालेका छन् । आज साँझ हुने सुदूरपश्चिमसँगको खेलका लागि क्लबले समर्थकहरूलाई काठमाडौं ल्याउन निःशुल्क बस सेवा सञ्चालन गरेको छ । चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट लिएका समर्थकलाई चितवनदेखि काठमाडौं ल्याउने र खेल सकिएपछि पुनः चितवन फर्काउने व्यवस्था मिलाइएको हो ।

    देवकोटाले प्रिटिकट लिएर आउने समर्थकमध्ये ‘पहिले आउनेलाई प्राथमिकता’ का आधारमा बस सेवा उपलब्ध गराइएको जानकारी दिएका छन् । क्लबले समर्थकको सहभागिता बढाउन यस्तो व्यवस्था गरेको जनाएको छ ।

    आजका दुवै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको खेलतालिकाअनुसार काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच दिउँसो तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच साँझ प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images