काठमाडौं – पहिरो खसेपछि गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक अवरुद्ध भएको छ । सत्यवती गाउँपालिका–४ खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि सडक पूर्ण रूपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि यस मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् । चट्टान ठूलो भएकाले सामान्य उपकरणले हटाउन नसकिने र स्काभेटर तथा ब्रेकरको सहायताले फुटाउनुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले प्रयास गरिरहेका छन् । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार चट्टान हटाउन मंगलबार बिहानैदेखि स्काभेटर र जेसीभी परिचालन गरिएको छ। ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले फुटाउने काम भइरहेको उनले बताए ।
चाडपर्वको समयमा यस क्षेत्रको मुख्य सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ । गुल्मीको रुद्रबेणी हुँदै बागलुङको बुर्तिवाङबाट पूर्वी रुकुमसम्म आवतजावत गर्ने यो सडक यस क्षेत्रको व्यस्त मार्गमध्ये एक हो । सडक कहिलेसम्म खुल्ने भन्नेबारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन ।























