काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत मात्र खर्च भएको छ ।
मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार नदी नियन्त्रण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पहिलो त्रैमासिकका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो । बजेट खर्चको तुलनामा भौतिक प्रगति भने ३४ दशमलव ९ प्रतिशत पुगेको महाशाखाले जनाएको छ ।
उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै एक हेक्टर जग्गा उकास गरिएको महाशाखा प्रमुख थापाले जानकारी दिए ।
केही आयोजनाले भने त्रैमासिक भौतिक लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले निर्धारित लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको छ ।
लमही आयोजनाले ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरले ८२ दशमलव ५ प्रतिशत र जनकपुर आयोजनाले ८२ दशमलव ३ प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।























