काठमाडौं – काठमाडौंको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बा.प्र. ०२–०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको बा.प्र. ०२–०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट पहिलो मोटरसाइकलमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका–७ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गाना गम्भीर घाइते भएका थिए । उपचारका क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सङ्खुवासभा घर भई गोकर्णेश्वरमा बस्ने ५० वर्षीय टीकाराम गुरुङ घाइते भएका छन् । उनको बायाँ कुम, बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ठक्कर दिने मोटरसाइकल चलाउने २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरेको पाइएको छ ।






















