काठमाडौं– नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै जोस र लोभका कारण विधि तथा कानुन कमजोर हुन नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भण्डारीले जोसले अगाडिको बाटो देख्न छोडे र लोभका सामु पदले विवेक गुमाए विधि तथा कानुनले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘के हुँदैछ ? जोसले अगाडिको बाटो देख्न छोड्यो, लोभका सामु पदले विवेक गुमायो भने त्यसलाई विधि र कानुनले हस्तक्षेप नगरे भोलिको दुर्घटना रोक्न सकिँदैन । किनकि जोस क्षणिक हुन्छ, लोभ अनियन्त्रित हुन्छ, तर त्यसको परिणाम पुस्तौंसम्म भोग्नुपर्छ !’
सरकारले गरेका केही अपरिपक्व निर्णयहरूप्रति लक्षित गरी भण्डारीले भण्डारीले निरन्तर आफ्नो धारणा व्यक्त गर्दै आएका छन् । उनले सरकारलाई दिइएको जिम्मेवारी पूरा गर्दै परिणाम दिन र विषयान्तर नगर्न पनि आग्रह गरेका छन् ।
‘छानबिन गर ! प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जवाफदेहिताका लागि हो । हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ । बिचौलिया पनि राज्यकै नियमन र नियन्त्रणभित्र छन् । दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ; विषयान्तर होइन,’ उनले भनेका छन् ।






















