images
images
  • पीआर त्यागेको प्रमाण पेश गर्न नसकेपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

    काठमाडौं– जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर फिर्ता गरेको प्रमाण पेश गर्न नसकेपछि आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार बसेको संसदीय समितिको बैठकमा उनले लिखित रुपमा आफ्नो नाम फिर्ता लिएको सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

    प्रस्तावित राजदूत थापाले आफूले नाम फिर्ता लिएको पत्र संसदीय सुनुवाइ समितिमा पठाएका थिए । उक्त पत्र समितिका सभापति श्रेष्ठले पढेर सुनाएका थिए । पत्रमा थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन गएकाले आफूले नाम फिर्ता लिएको उल्लेख गरेका छन् ।

    जसमा असोज २८ गते दुई देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत हुँदा थापालाई होल्डमा राखिएको थियो । थापाले जापानको पीआर फिर्ता गरेको प्रमाण पेश गर्न नसकेसँगै राजदूतबाट फिर्ता हुनु परेको हो ।

    यसअघि संसदीय सुनुवाइ समितिले सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका दुई जनाको नाम अस्वीकृत गरेको थियो । समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको हो ।

    सुनुवाइका क्रममा प्रस्तावित उम्मेदवारहरूमाथि परेका उजुरी र उनीहरूको आचरणसम्बन्धी प्रश्न उठेका थिए । सुनारमाथि महिला हिंसा, धम्की तथा आर्थिक लेनदेनसम्बन्धी आरोप लगाइएको थियो । खरेलमाथि पनि स्वार्थको द्वन्द्व र अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका आरोपसहित उजुरी परेका थिए ।

    सुनुवाइका क्रममा सांसदहरूले उजुरीमा उल्लेख गरिएका विषयमा उम्मेदवारहरूसँग जवाफ मागेका थिए । खरेलले उठेका प्रश्नमा चित्तबुझ्दो जवाफ दिन नसकेको समितिको निष्कर्ष थियो । सुनारले महिला हिंसासम्बन्धी उजुरी परेकी महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका थिए ।

    जापानका लागि प्रस्तावित थापामाथि जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको र त्यहाँको सरकारी सेवामा काम गरेको विषयमा उजुरी परेको थियो । समितिले यस विषयमा थप कागजात अध्ययन गरेपछि निर्णय गर्ने भन्दै आवश्यक कागज पत्र माग गरेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images