काठमाडौं – नेपाली शेयर बजार आज सोमबार बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो ।
नेप्सेको बिदासम्बन्धी सूचीमा आजको दिन ‘आकस्मिक बजार बन्द’ का रूपमा उल्लेख गरिएको छ ।
डाटा केन्द्रमा आएको प्राविधिक समस्या
नेप्सेका अनुसार नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा हब प्रालि.को डाटा केन्द्रमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो ।
समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।
कारोबार सञ्चालन गर्दा प्रणालीमा असर पर्न सक्ने
डाटा केन्द्रमा देखिएको समस्या यथास्थितिमा रहँदा कारोबार सञ्चालन गरे नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएको नेप्सेले जनाएको छ ।
यसै कारण नियमित कारोबार सञ्चालन गर्नु उपयुक्त नहुने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।
नियमअनुसार कारोबार स्थगित
ब्रोकर कम्पनीहरूको निवेदन र डाटा केन्द्रमा देखिएको प्राविधिक समस्यालाई ध्यानमा राख्दै नेप्सेले आजको नियमित कारोबार सत्र स्थगित गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ ९१० बमोजिम कारोबार स्थगित गरिएको जनाएको छ ।
प्राविधिक समस्या समाधान भएपछि शेयर बजारको नियमित कारोबार सञ्चालन हुने बताइएको छ ।


विश्व खबर 



















