काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको २८औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार पोखराको होटल पोखरा ग्राण्ड, पार्दीमा बिहान ११ बजे सुरु हुनेछ ।
बोनस र नगद गरी ६ प्रतिशत लाभांश
सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
बैंकले प्रस्ताव गरेको लाभांश पारित भएपछि योग्य शेयरधनीले बोनस शेयरसँगै नगद लाभांश प्राप्त गर्नेछन् ।
अग्राधिकार शेयरधनीलाई पनि लाभांश
सभाले अग्राधिकार शेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयरको ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
उक्त लाभांश असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ ।
सञ्चालक निर्वाचनदेखि नियमावली संशोधनसम्म
साधारण सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेस हुनेछ ।
त्यस्तै, संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहका शेयरधनीको तर्फबाट १ जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव रहेको छ ।
सभामा स्वतन्त्र सञ्चालक पदमा चार वर्षका लागि अर्जुनकुमार गौतम नियुक्त गरिएको जानकारी समेत गराइनेछ ।
यसका साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका विभिन्न प्रस्ताव पनि साधारण सभामा पेस हुनेछन् ।
असोज ९ गतेसम्म शेयर किनेका लगानीकर्ता योग्य
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १२ गते एक दिन शेयर दाखिला तथा खारेजी बन्द गर्ने भएको छ ।
यसअनुसार असोज ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


विश्व खबर 



















