images
images
  • तनहुँ–भरतपुर २२० केभी प्रसारणलाइन : तनहुँका १७ वटै सामुदायिक वनमा रुख काट्न स्वीकृति

    काठमाडौं– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फ पर्ने सबै सामुदायिक वनमा रुख कटान गर्न आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।

    आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारणलाइन क्षेत्रमा पर्ने रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको हो ।

    यससँगै प्रसारणलाइन क्षेत्रमा पर्ने तनहुँका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ ।

    तीन स्थानीय तहका १७ सामुदायिक वन

    प्रसारणलाइनअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिकामा छ र व्यास नगरपालिकामा छवटा सामुदायिक वन रहेका छन् ।

    तनहुँतर्फ रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भए पनि चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

    वन क्षेत्रसँग सम्बन्धित स्वीकृति प्राप्त भएपछि प्रसारणलाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाले जनाएको छ ।

    ३५ किलोमिटरमा ९४ टावर

    दमौली–भरतपुर २२० केभी प्रसारणलाइनको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ ।

    निर्माणको जिम्मा पाएको भारतको केइसी इन्टरनेसनल लिमिटेडले हालसम्म ८३ वटा टावरको जग निर्माण र ७८ वटा टावर जडान गरिसकेको छ ।

    आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ ।

    रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारणलाइन निर्माणको बाँकी काम अघि बढाउन सहज हुने आयोजनाको अपेक्षा छ ।

    आयोजनाको समग्र प्रगति ७८ प्रतिशत

    १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना तीनवटा प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ ।

    आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम सोङ्दा–कालिका जेभीमार्फत भइरहेको छ। यस प्याकेजको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ ।

    त्यस्तै प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजको प्रगति ७९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

    प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माण भइरहेको छ ।

    आयोजनाको समग्र भौतिक प्रगति भने ७८ प्रतिशत पुगेको जनाइएको छ । प्रसारणलाइनका लागि आवश्यक वन स्वीकृति प्राप्त भएसँगै निर्माणका बाँकी कामले गति लिने आयोजनाको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images