काठमाडौं– भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् ।
सञ्चालनमा रहेका २८१ मेगावाट क्षमताका आठवटा र निर्माणाधीन अवस्थामा रहेका ३८८ मेगावाट क्षमताका चारवटा आयोजना क्षतिग्रस्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जानकारी दिएको छ । बाढीमा परी ती आयोजनामा कार्यरत ८२४ जना अझै बेपत्ता छन् ।
बाढीले कूल ४९४ मेगावाट क्षमताका ६ वटा आयोजनाहरूमा पूर्णरूपमा क्षति पुर्याएको छ । माथिल्लो त्रिशूली–१ (२१६), रसुवागढी (१११), रसुवा भोटेकोशी (१२०), लाङटाङ खोला (२०), चिलिमे (२२) र मैलुङ खोला (५) जलविद्युत् आयोजना पूर्णरूपमा क्षतिग्रस्त ‘कोल्याप्स’ भएका छन् । यी आयोजनाहरूमा कार्यरत ६०१ जना सम्पर्कबिहीन रहेको इप्पानले जानकारी दिएको छ ।
यसैगरी बाढीले सञ्चालनमा रहेका चारवटासहित कूल १७५ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना पूर्णरूपमा प्रभावित बनाएको छ । इप्पानका अनुसार सञ्चालनमा रहेका त्रिशूली जलविद्युत् केन्द्र (२४), देवीघाट जलविद्युत् केन्द्र (१४.१), माथिल्लो त्रिशूली थ्री ‘ए’ (६०) र नुवाकोट सौर्य विद्युत् आयोजना (२५) पूर्ण प्रभावित भएका छन् ।
यस्तै, निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ (३७) र मिडल त्रिशूली गंगा (१५.६) पनि पूर्ण प्रभावित छन् । यी ६ वटा आयोजनामा कार्यरत कूल २२३ जना अझै सम्पर्कबिहीन छन् ।


विश्व खबर 



















