images
images
  • साइबर आक्रमणपछि सेबोनद्वारा छानबिन समिति गठन

    काठमाडौं – नेपालको पूँजी बजारमा सोमबार भएको साइबर आक्रमणपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छानबिन समिति गठन गरेको छ । घटनाबारे नेपाल प्रहरीले समेत अनुसन्धान गरिरहेको जनाइएको छ ।

    छानबिन समितिले आक्रमणबाट भएको वास्तविक क्षति, लगानीकर्ताको विवरण चोरी वा परिवर्तन भए–नभएको, प्रणालीमा कस्तो पहुँच कायम गरिएको थियो तथा आक्रमणको उद्देश्य र संलग्न व्यक्तिबारे अध्ययन गर्नेछ ।

    आक्रमणका क्रममा अनुमति नलिई कम्प्युटर वा सूचना प्रणालीमा प्रवेश गरेको पुष्टि भए विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ आकर्षित हुन सक्छ ।

    त्यस्तै, सूचना वा तथ्यांक नष्ट, मेट्ने, परिवर्तन गर्ने वा प्रणालीलाई प्रयोग गर्न नसकिने बनाएको पाइए दफा ४६ तथा सुरक्षित विद्युतीय अभिलेख अनधिकृत रूपमा खुलासा गरेको भए दफा ४८ अन्तर्गतको कसुरसमेत आकर्षित हुन सक्ने कानुनी जानकारहरू बताउँछन् ।

    साइबर आक्रमणमार्फत गोप्य सूचना प्रयोग गरी शेयर कारोबार गरिएको वा बजार मूल्य तथा कारोबारमा कृत्रिम प्रभाव पारिएको प्रमाण भेटिए धितोपत्रसम्बन्धी कानुनअन्तर्गत थप कसुरको अनुसन्धान हुन सक्नेछ ।

    छानबिनका क्रममा आक्रमणकारी प्रणालीमा प्रवेश गरेको बाटो, कुन–कुन प्रणालीमा पहुँच पुगेको थियो, लगानीकर्ताको डेटा चोरी वा नष्ट भए–नभएको, कारोबारमा हस्तक्षेप भएको थियो कि थिएन र आर्थिक लाभ लिने प्रयास गरिएको थियो कि थिएन भन्ने विषय मुख्य रूपमा हेरिनेछ ।

    यसैगरी, ठूलो संख्यामा ब्रोकर एउटै डेटा पूर्वाधारमा निर्भर हुनु, वैकल्पिक प्रणाली तत्काल सञ्चालनमा आउन नसक्नु, सुरक्षा परीक्षणको अवस्था तथा घटना भएपछि सम्बन्धित निकायबीच भएको समन्वयबारे समेत अध्ययन आवश्यक देखिएको छ ।

    छानबिनले दोषी पहिचानसँगै भविष्यमा यस्ता घटना दोहोरिन नदिन वैकल्पिक डेटा केन्द्र, नियमित सुरक्षा परीक्षण, आकस्मिक सञ्चालन प्रणाली र साइबर सुरक्षा अभ्याससम्बन्धी ठोस उपाय सिफारिस गर्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images