images
images
  • साना उद्योगलाई राष्ट्रिय प्राथमिकता दिन सरकारसँग महासंघको माग

    काठमाडौं– उत्पादन, रोजगारी र निर्यात विस्तारका लागि लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारसँग माग गरेको छ ।

    महासंघले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष आगामी १० वर्षलाई ‘लघु, घरेलु तथा साना उद्योग विकास दशक’ घोषणा गर्नुपर्ने प्रस्तावसहित विभिन्न सुझाव पेश गरेको हो ।

    महासंघले साना उद्यमीका लागि सहुलियतपूर्ण तथा बिनाधितो कर्जाको व्यवस्था गर्नुपर्ने, नयाँ उद्योगलाई कर छुट तथा सहुलियत दिनुपर्ने र स्वदेशी उत्पादनको बजार विस्तारका लागि सरकारी नीतिमा प्राथमिकता दिनुपर्ने माग गरेको छ ।

    सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता

    महासंघले सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।

    स्वदेशी उत्पादनको प्रयोग बढाउन ‘नेपालमा बनाऔँ’ अभियान सञ्चालन गर्नुपर्ने, नेपाली वस्तुको निर्यातमा देखिएका प्रशासनिक तथा प्रक्रियागत कठिनाइ हटाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न सरकारले विशेष पहल गर्नुपर्ने महासंघको माग छ ।

    त्यस्तै, उद्योगमा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदान तथा सहयोग उपलब्ध गराउनुपर्ने सुझाव पनि महासंघले दिएको छ ।

    महिला र विदेशबाट फर्किएका युवालाई विशेष प्याकेज

    महासंघले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोड्न विशेष कार्यक्रम ल्याउनुपर्ने प्रस्ताव गरेको छ ।

    उनीहरूलाई सीप, पूँजी, प्रविधि र बजारसँग जोड्ने गरी विशेष उद्यमशीलता प्याकेज सञ्चालन गर्नुपर्ने महासंघको सुझाव छ ।

    त्यसैगरी नयाँ उद्यमलाई लगानी जुटाउन ‘१०० नयाँ उद्यम–१०० लगानीकर्ता’ कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावसमेत महासंघले गरेको छ।

    उद्योगका सरकारी सेवा छिटो बनाउन माग

    उद्योग दर्ता, अनुमति, नवीकरण तथा अन्य सरकारी सेवा प्राप्त गर्ने प्रक्रियालाई सहज र छिटो बनाउन महासंघले विशेष व्यवस्था गर्नुपर्ने जनाएको छ ।

    उद्योगसम्बन्धी सरकारी सेवा एकै ठाउँबाट सरल र छरितो रूपमा उपलब्ध हुने गरी ‘द्रुत औद्योगिक सेवा’ लागू गर्नुपर्ने महासंघको माग छ ।

    महासंघले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य बढाएर उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात विस्तार गर्न सकिने जनाएको छ ।

    साना उद्योग सरकारको प्राथमिकतामा : वाग्ले

    महासंघका माग तथा सुझाव ग्रहण गर्दै कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

    उनले साना तथा घरेलु उद्योगको विकासमार्फत उत्पादन र रोजगारी विस्तार गर्न सकिने भएकाले यस क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गरिने बताएका छन् ।

    बाढीपीडितलाई पाँच लाख ५५ हजार सहयोग

    यसै अवसरमा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ८८पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

    महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा। वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ ।

    महासंघले बाढी प्रभावित परिवारका लागि आवश्यक राहत सामग्रीसमेत संकलन गरिरहेको जनाएको छ । संकलित सामग्री छिट्टै प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिने महासंघको भनाइ छ ।

    महासंघकी अध्यक्ष गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान र गुणराज ढकाल तथा महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाललगायत सहभागी थिए ।

    महासंघका महासचिव विनोददेव पन्त, कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत पदाधिकारीको पनि प्रतिनिधिमण्डलमा सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images