काठमाडौं– पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् ।
काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाले आतंकवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबान सेनाले सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो ।
पाकिस्तानी सेनाले जवाफी कारबाहीमा तालिबानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको उनीहरूले बताएका छन् ।
चारजना स्थानीय अधिकारीका अनुसार पक्तिया र नंगरहार प्रान्तमा अफगान सीमाबाट आतंकवादीहरूले पाकिस्तान प्रवेश गर्ने प्रयास गरेका थिए ।
पाकिस्तानले पाकिस्तानी तालिबानका लागि प्रयोग गर्ने ‘फितना–उल–खवारीज’ नामले उनीहरूलाई सम्बोधन गर्दै आएको छ ।
पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारमाथि आफ्नो भूमिबाट आतंकवादी गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएका छन् भने काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।


विश्व खबर 



















