काठमाडौं- अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयासलाई अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले रोकेका छन् । इरानविरुद्धको युद्धमा आवश्यक संसदीय स्वीकृति नलिई भूमिका खेलेको आरोपमा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास गरिएको थियो ।
मंगलबार भएको प्रक्रियागत मतदानमा महाभियोगका आरोपहरूलाई रिपब्लिकन नेतृत्वको प्रतिनिधिसभाको न्यायिक समितिमा पठाउने पक्षमा २११ मत परेको थियो भने विपक्षमा २०४ मत परेको थियो । रिपब्लिकन सांसद थोमस मेसीबाहेक अन्य सबै रिपब्लिकन सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
मेसीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाएका थिए । प्रस्तावमा डेमोक्रेटिक सांसदहरूको समेत समर्थन रहेको थियो । यसले इरान युद्धप्रति असन्तुष्ट देखिएका रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनबाट दूरी बनाउने सम्भावनाबारे पनि चासो बढाएको थियो ।
तर मंगलबारको मतदानपछि महाभियोग प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना कमजोर बनेको छ । रिपब्लिकन नेतृत्वले प्रक्रियालाई लामो समयसम्म अल्झाउन सक्ने र हेगसेथविरुद्धका आठ वटा महाभियोग आरोपमा प्रत्यक्ष मतदान हुन नदिने बाटो खुलेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानपछि सामाजिक सञ्जालमार्फत महाभियोग प्रयास असफल भएको भन्दै हेगसेथको बचाउ गरेका छन् । उनले मेसीबाहेक सबै रिपब्लिकन सांसदले हेगसेथको पक्षमा मतदान गरेको बताएका छन् ।
मेसीको प्रस्तावमा हेगसेथले अमेरिकी संसद्को स्वीकृतिविना इरानविरुद्ध गैरकानुनी युद्ध सुरु गरेकोसँगैलागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेका पानीजहाजमाथि अमेरिकी सेनाले गरेको कारबाहीलाई लिएर पनि प्रश्न उठाइएको थियो ।
हेगसेथले महाभियोग प्रस्तावलाई ‘तोडफोड’ र ‘तमासा’ भन्दै अस्वीकार गरेका छन् । ट्रम्पसहित उनको प्रशासनका वरिष्ठ अधिकारीहरूले पनि हेगसेथप्रति निरन्तर समर्थन जनाएका छन् ।
यसैबीच मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति व्यहोरेपछि हेगसेथको राजनीतिक भविष्यबारे अड्कलबाजी बढेको छ । इरान युद्धका कारण पेट्रोल र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै मतदातामा असन्तुष्टि बढेको छ, जसको परिणाम मध्यावधि निर्वाचनमा देखिाएको थियो ।
महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट अघि बढे पनि सिनेटबाट दोषी ठहर गर्न दुईतिहाइ मत आवश्यक पर्छ । रिपब्लिकन पार्टीको सिनेटमा ५३ सदस्य रहेकाले हेगसेथलाई पदबाट हटाउने सम्भावना तत्काल कमजोर देखिएको छ ।




















