काठमाडौं– वातावरणमैत्री तथा विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी कर्जा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार अब हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल, हिमालय मोटोरेक्स तथा सम्बद्ध कम्पनीले बिक्री वितरण गर्ने कमर्सियल तथा विद्युतीय सवारीसाधन खरिदमा ग्राहकले ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने भएका छन् ।
सम्झौतामा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन् ।
७ वर्षसम्मको भुक्तानी अवधि
सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा अधिकतम ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको भुक्तानी अवधि अधिकतम ७ वर्षसम्म रहने जनाइएको छ ।
आवश्यक सम्पूर्ण कागजात पेस भएको अवस्थामा ३ देखि ५ दिनभित्र कर्जा स्वीकृत गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यो सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका शाखामार्फत उपलब्ध हुनेछ।
विद्युतीय बसदेखि ट्रकसम्म
हिमालय अर्गनाइजेसनले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका कमर्सियल तथा विद्युतीय सवारीसाधन नेपालमा बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले साइक मोटरको प्रिमियम ब्रान्ड म्याक्ससका पिकअप तथा अन्य सवारीसाधन बिक्री गर्दै आएको जनाएको छ। म्याक्ससका सवारीमा चारपांग्रे ड्राइभ, उच्च ब्याट्री क्षमता, एयर सस्पेन्सन र उच्च भारवहन क्षमताजस्ता विशेषता रहेको कम्पनीको दाबी छ।
त्यस्तै, डोङफेङका विद्युतीय बस पनि कम्पनीले नेपालमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार ७ देखि १२ मिटरसम्मका विभिन्न आकारका बस ग्राहकको आवश्यकता र क्षमताअनुसार उपलब्ध छन्। २६ देखि ५० सिट क्षमताका बस एसी वा गैरएसी विकल्पमा खरिद गर्न सकिने जनाइएको छ।
३१ टनसम्मका विद्युतीय ट्रक
हिमालय अर्गनाइजेसनले हुबेई ट्राइ–रिङ मोटर्सका विद्युतीय ट्रक तथा टिपर पनि बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार ४ टनदेखि ३१ टनसम्म क्षमताका विद्युतीय ट्रक उपलब्ध छन् ।
यी सवारीसाधनले ढुवानी, पूर्वाधार निर्माण तथा औद्योगिक क्षेत्रमा सञ्चालन लागत घटाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, फोर्स मोटर्सका माइक्रोबसदेखि विभिन्न व्यावसायिक तथा ढुवानी प्रयोजनका सवारीसाधन पनि हिमालय अर्गनाइजेसनले बिक्री वितरण गर्दै आएको छ ।
हरित यातायातमा वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सले सम्झौतामार्फत विद्युतीय तथा कमर्सियल सवारीसाधन खरिदका लागि वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य लिएका छन् ।
साझेदारीले यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकलाई सवारीसाधन खरिदमा कर्जा सुविधा सहज बनाउनुका साथै विद्युतीय तथा वातावरणमैत्री यातायातको विस्तारमा सहयोग पुग्ने दुवै संस्थाको अपेक्षा छ ।


विश्व खबर 



















