images
images
  • कोरलानाकाबाट २० दिनमै २ अर्ब ५४ करोड राजस्व

    काठमाडौं– रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको वैकल्पिक मार्ग बनेको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले २० दिनमै २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट पैठारी हुने अधिकांश मालवस्तु तथा विद्युतीय सवारीसाधनको मार्ग परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् ।

    मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। यी मालवस्तु तथा सवारीसाधनबाट २० दिनमै २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

    भन्सार प्रमुख चुडालले केरुङ नाकाबाट मार्ग परिवर्तन भएर आएका तथा कोरलानाकाबाट नियमित रूपमा पैठारी भएका मालवस्तुबाट छोटो अवधिमै ठूलो परिमाणमा राजस्व सङ्कलन भएको बताए ।

    भदौमा मात्रै २ अर्ब ८१ करोड राजस्व

    मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    कार्यालयले साउनमा २६ करोड ३९ लाख रुपैयाँ र भदौमा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो । भदौ महिनाको राजस्व सङ्कलन साउनको तुलनामा उल्लेख्य रूपमा बढी हो ।

    रसुवागढी नाका पूर्ण रूपमा बन्द हुनुअघि चालु आर्थिक वर्षको साउनदेखि भदौ ९ गतेसम्मको ४० दिनमा मुस्ताङ भन्सारबाट जम्मा ५३ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो। त्यस अवधिमा कोरलानाकाबाट १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवस्तुका कन्टेनर भित्रिएका थिए ।

    भदौमा १ हजार २५३ विद्युतीय गाडी भित्रिए

    भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा कोरलानाका हुँदै १०० वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । ती सवारीसाधनबाट १७ करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    भदौमा भने एक हजार २५३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। ती सवारीसाधनबाट मात्रै १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए ।

    त्यस्तै, साउनमा ५७ वटा र भदौमा ६९७ वटा मालवस्तु बोकेका कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका छन् ।

    रसुवागढी र तातोपानी बन्द हुँदा कोरला मुख्य वैकल्पिक मार्ग

    नेपाल–चीन व्यापारका प्रमुख नाका रसुवागढी र तातोपानी दुवै बन्द अवस्थामा रहेका कारण चीनबाट नेपालमा मालवस्तु भित्र्याउने वैकल्पिक मार्गका रूपमा अहिले कोरलानाका महत्वपूर्ण बनेको छ ।

    रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवागढी–केरुङ नाका बन्द भएपछि केरुङ हुँदै नेपाल भित्रिने मालवस्तु र विद्युतीय सवारीसाधनको मार्ग कोरलातर्फ मोडिएको हो । त्यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सारको राजस्व सङ्कलनमा देखिएको छ ।

    मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को १२ महिनामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामै कोरलानाकाबाट विद्युतीय सवारीसाधन र मालवस्तुको आयात बढेपछि मुस्ताङ भन्सारको राजस्व सङ्कलन पनि तीव्र रूपमा बढेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images