images
images
  • एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड आजदेखि निष्काशन, ८० करोडको इकाई बिक्रीमा

    काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (असोज ७ गते) देखि ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’को इकाई निष्काशन तथा बिक्री खुला गर्दैछ ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

    कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ ।

    बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

    न्यूनतम १०० इकाईका लागि आवेदन

    फण्डको इकाई खरिदका लागि लगानीकर्ताले आजदेखि आवेदन दिन सक्नेछन्। न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    इकाई खरिदका लागि असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गर्न सकिने क्यापिटलले जनाएको छ ।

    बिक्री खुला अवधिमा कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिनेछ। तोकिएको न्यूनतम इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ ।

    १० वर्ष अवधिको बन्दमुखी योजना

    एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी योजना हो । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको वेब तथा एपमार्फत फण्डको इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images