काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को इकाईमा आवेदन दिने अवधि थप गरेको छ ।
क्यापिटलका अनुसार अब लगानीकर्ताले उक्त फण्डको इकाई खरिदका लागि असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यद्यपि, मागभन्दा बढी आवेदन परेमा निर्धारित अवधिअगावै सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।
कुल निष्काशित इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
फण्डमा लगानी गर्न इच्छुकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
फण्डको बिक्री खुला अवधिमा कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिने व्यवस्था छ । तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको यो फण्ड बन्दमुखी योजना हो । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसमेत मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको वेब तथा एपमार्फत फण्डको इकाईका लागि आवेदन दिन सक्नेछन् ।


विश्व खबर 



















