काठमाडौं – मुक्तिनाथ विकास बैंकले घर निर्माण तथा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याएको यस योजनाअन्तर्गत ग्राहकले आधारदरमा शून्य दशमलव २५ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा घर कर्जा प्राप्त गर्न सक्नेछन् ।
योजनाअन्तर्गत घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकका अनुसार घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सकिनेछ ।
चाडपर्वको अवसरमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ ।
विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ । उक्त अवधिपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्त लागू हुने बैंकले स्पष्ट पारेको छ ।
बैंकले यो कर्जा सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट उपलब्ध गराउने जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जा योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन् ।
यसैगरी बैंकले सवारी कर्जा तथा कृषि एवं साना तथा मझौला व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ ।


विश्व खबर 



















